भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने प्रधानमन्त्री कार्कीको घोषणा


काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुने जानकारी दिएकी छन् । उनले जेनजी आन्दोलनको म्याण्डेटअनुसार आयोग आवश्यक रहेको बताउँदै यसले अनुसन्धान गरेर आगामी सरकारलाई सहज आधार तयार गरिदिने उल्लेख गरिन् ।

उनका अनुसार आयोगले अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गरी आवश्यक कारबाहीसम्म पुर्‍याउने छ । त्यस्तै, जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न तीन सदस्यीय आयोग पनि बन्ने उनले जानकारी दिइन् । सुरुमा एक महिनाको समय दिइने र आवश्यकता परे थप १५ दिन थपिने उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारको कार्यकाल ६ महिनामात्र भएकाले यस अवधिमा अधिकतम काम गर्ने लक्ष्य रहेको स्पष्ट पारेकी छन् ।