जनार्दन शर्माद्धारा प्रचण्डको राजीनामा माग


काठमाडौं ।

जेनजी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व संकट चर्किएको छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा माग गर्दै पार्टीमा रूपान्तरणको बहस थालेका छन् ।

शर्माले जेनजी आन्दोलनले भ्रष्टाचार र दलालीयुक्त संस्कृतिमाथि प्रहार गरेको भन्दै नयाँ नेतृत्व खोज्ने अवसर सिर्जना भएको बताए । उनले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन, प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणाली, पूर्ण समानुपातिक निर्वाचन, कार्यकारी राष्ट्रपति व्यवस्था लगायत १६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् ।

प्रचण्ड पक्षले भने शर्मामाथि अराजकता मच्चाएको आरोप लगाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्र आन्तरिक विवादसहित नयाँ बाटोको खोजीमा उभिएको छ ।

जेनजी आन्दोलनबारे जनार्दनको संश्लेषण र आगामी बाटो यस्तो छ–

१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, सँस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।

२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ ।

३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।

४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।

५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।

६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।

७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।

८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।

९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।

१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ ।

११.  पार्टी भित्रका दलित महिलाका समस्याहरु समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।

१२. साँस्कृतिक बिचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।

१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।

१४. श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।

१५.  राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।

१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ ।