जेनजी विद्रोहपछि उपत्यका सामान्य, पूर्वप्रधानमन्त्रीहरू सेनाको सुरक्षा संरक्षणमा


काठमाडौँ ।

भदौ २३–२४ गते जेनजीले गरेको विद्रोहका कारण आतंकित बनेको काठमाडौँ उपत्यका क्रमशः सामान्य बन्दै गएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध भएको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि आन्दोलनकारीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित देशभरका सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरेका थिए ।

उच्च सुरक्षा चुनौतीबीच सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सुरक्षित स्थलमा राखेको थियो । देउवा दम्पती र खनालकी श्रीमती रविलक्ष्मी चित्रकार आक्रमणमा घाइते भई उपचाररत छन् ।

ओली र देउवा बाहेक अन्य पूर्वप्रधानमन्त्रीहरू आइतबार र सोमबारदेखि आ–आफ्नो निवास फर्किएको उच्च स्रोतले जनाएको छ ।