चाडपर्व नजिकिँदै उपत्यका बाहिरिने यात्रुको चाप बढ्यो


काठमाडौँ ।

चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्ष घटस्थापनादेखि मात्र चाप बढ्ने गरेकामा यस वर्ष भने अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेका छन् ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको परिस्थिति सम्झँदै पनि भाडा वृद्धि नगरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए । अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काट्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागले चाडपर्वमा यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि तयारी गरेको जनाएको छ । मंगलबार विभागमा भएको छलफलमा महानिर्देशक राजीव पोखरेलले सडकमा अवरोध हुन नदिन सडक विभागसँग सहकार्यमा डोजरको व्यवस्था गरिने र यात्रु सहायता कक्ष तथा भाडादरका बोर्ड राखिने जानकारी दिए ।