बानेश्वरको हिंसा: स्पाइनर पेस्तोलको प्रयोग भएको आशंका

छानबिनको माग


काठमाडौं।

बानेश्वरमा भदौ २३ गते प्रतिनिधिसभा भवनअगाडि भएको गोलीकाण्डमा स्पाइनर पेस्तोल प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ । सरकारका उच्च अधिकारीहरूले प्रहरीको राइफलको गोलीबाट त्यति धेरै मानिसहरू मर्न नसक्ने भन्दै यस विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल बानेश्वरमा त्यति धेरै मानिसहरू मृत्यु भएको खबर पाउँदा आश्चर्यमा पर्नुभएको थियो । रिजालले प्रहरीलाई त्यसरी गोली हान्ने अधिकार नदिइएको र प्रहरीको राइफलबाट त्यति धेरै मानिसहरूको मृत्यु हुन नसक्ने भन्दै निकटस्थहरूसँग आश्चर्य व्यक्त गर्नुभएको थियो । सोही दिन भएको गोली प्रहारमा कम्तीमा १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये कतिपयलाई टाउकोमा नै गोली लागेको थियो ।

वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले नेपालका प्रहरीले हानेको राइफलको गोलीले ठ्याक्कै टाउकोमा लाग्ने सम्भावना कम हुने भएकाले सो गोली काण्ड प्रकरण रहस्यमय भएको बताउनुभयो । ‘एकाध घटनाबाहेक प्रहरीले हानेको गोली पाखुुरा, खुट्टा, पेटमा र छातीतिर लाग्छ तर टाउको र निधारमा लाग्ने गोली राइफलबाट खासै हुँदैन’, अधिवक्ता संग्रौलाले भन्नुभयो– ‘सो घटनामा राइफलको गोलीभन्दा पनि ४ सय मिटर परबाट वाइनाकुलर प्रयोग गरेर स्पाइनरमार्फत टाउको र निधारमा गोली हानेको जस्तो देखिन्छ ।’

संग्रौलाले त्यस दिन प्रतिनिधिसभाअगाडि जसरी गोली फुत्रुक फुत्रुक खसेको छ, त्यसरी स्पाइनर प्रयोग गर्ने कुनै बाह्य अपराधी त थिएन भन्ने प्रश्नसमेत गर्नुभएको छ । ‘त्यो प्रहरीमाथि आरोप लगाएर विध्वंस मच्चाउन उद्यत कुनै आपराधिक गिरोह त थिएन ? त्यस सम्बन्धमा सरकारले गम्भीर छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ’ –अधिवक्ता संग्रौलाले भन्नुभयो ।