जेन–जी आन्दोलन: गुगल म्यापमार्फत हमला, मुलुक आन्तरिक सुरक्षाको भुमरीमा

मुलुकको पुनर्निर्माण कहाँबाट सुरु गर्ने ?

35.91k
Shares

–प्रविधिको दुरुपयोगबाट आगजनी र लुटपाट

काठमाडौं।

नातावाद, कृपावाद, भ्रष्टाचार र कुशासनविरुद्ध प्रदर्शन गर्ने घोषणा गरिएको जेन–जी आन्दोलन पछिल्लो चरणमा हिंसात्मक रूपमा परिणत भएपछि त्यसको सूक्ष्म विश्लेषण सुरु भएको छ । यस आन्दोलनभित्र प्रवेश गरेर सत्ता परिवर्तन नै गराउन सफल भएको समूहले मुलुकको भौतिक तथा ऐतिहासिक सम्पदा ध्वस्त पार्न आधुनिक प्रविधि, गुगल म्यापको प्रयोग गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

उच्च सुरक्षा अधिकारीका अनुसार आन्दोलनको नाममा घुसपैठ गर्न सफल समूहले प्रहरी चौकीदेखि सरकारी भवन र नेताहरूका निजी सम्पत्ति नियोजित रूपमा आक्रमण गर्न गुगल म्यापमार्फत लोकेसन पहिचान गरेको छ । सुरुमा प्रहरीलाई लक्ष्य बनाइएको र त्यसपछि निजी र सार्वजनिक सम्पत्तिमाथि जथाभाबी आक्रमण गरेको देखिन्छ ।

राजधानीदेखि ग्रामीण क्षेत्रसम्मका करिब २ सयभन्दा बढी प्रहरी चौकी ध्वस्त भएका छन् । आन्दोलनकारीले सुरुवाती आक्रमणमै प्रहरीलाई निष्क्रिय बनाउन खोजेको सुरक्षा अधिकारीहरूको भनाइ छ । पूर्व डीआईजी हेमन्त मल्ल भन्नुहुन्छ– ‘यो आकस्मिक घटना होइन । प्रहरी चौकीहरूलाई सुरुमा आक्रमण गरेर प्रहरीलाई ‘प्यारालाइज’ बनाइएको छ । त्यसपछि आन्दोलनकारीहरू उत्साहित हुँदै जथाभाबी आगजनी र लुटपाटमा उत्रिएका छन् । यसमा पूर्वनियोजित योजना रहेको प्रमाण भेटिन्छ ।’

उहाँका अनुसार, प्रहरीको मनोबल अहिले माटोमा मिलेको छ । पुनः उच्च बनाउन अझै केही समय लाग्ने देखिन्छ । यसले समाजमा नकारात्मक प्रभाव पार्ने सम्भावना निकै उच्च रहेकाले सबै निकाय संवेदनशील हुन जरुरी छ । देशभरका जेल तोडफोड भई करिब १० हजार कैदी फरार भएका छन् ।

समाजशास्त्री यज्ञविनोद कोइराला भन्नुहुन्छ– ‘देशभरका प्रहरी चौकी आक्रमणको शिकार हुनु, प्रहरीको मनोबल खस्किनु र कैदीहरू सम्पर्कमा नआउनु यी सबै कारणले मुलुकको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न गराएको छ । अब गाउँ–टोलमा स्थानीय सुरक्षादस्ता खडा नगरे हिंसात्मक गतिविधि नियन्त्रण गर्न गाह्रो हुन्छ ।’ उहाँका अनुसार अहिलेको अवस्थामा राज्यमात्र नभई समाजले पनि सुरक्षा व्यवस्थामा प्रत्यक्ष भूमिका खेल्नुपर्ने अपरिहार्य अवस्था आएको छ ।

प्रविधिको दुरुपयोग बन्यो नयाँ सुरक्षा चुनौती

गुगल म्यापमार्फत सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरिएको खुलासाले नेपालमा प्रविधिको दुरुपयोग नयाँ सुरक्षा चुनौती बनेको देखिन्छ । यस घटनाले दुई प्रमुख पक्ष उजागर गरेको देखिन्छ । ती हुन्, नेपालको सुरक्षा संयन्त्र प्रविधि छैनन् र आन्दोलनकारी समूहले भने प्रविधिलाई हतियारका रूपमा प्रयोग गरेको देखिन्छ । जेन–जीको नाममा प्रवेश गरेका आतंकवादी समूहले साइबर हमला गरेको नेपालका सबै सुरक्षा निकायले पुष्टि गरेको छ । यो जेन–जीलाई देखाउने आवरणमात्र हो भित्र लामो समयदेखि जेन–जीले खडा गरेको समूहमा प्रवेश गरेको सो समूहले सरकारी तथा निजी सम्पत्तिमाथि कोड वड प्रयोग गरेर आक्रमण गरेको पुष्टि सुरक्षा अधिकारीले गरेका छन् ।
सुरक्षा अधिकारीहरूका अनुसार गुगल म्यापमार्फत प्रहरी चौकीको सटिक लोकेसन लिएर आक्रमण भएको प्रमाण भेटिएको छ । यसरी आधुनिक प्रविधिको सजिलो पहुँचले नै राज्य संयन्त्र कमजोर बनाएको छ । हिंसात्मक गतिविधिमात्र नभई राजनीतिक अस्थिरताले पनि मुलुक थप संकटतर्फ धकेलिएको छ ।
सत्ता उलटपुलट भएको एक हप्ता हुन लाग्दा पनि मन्त्रिपरिषद् पूर्ण हुन सकेको छैन । प्रधानमन्त्री नियुक्त भएको तीन दिनमै राजीनामाको माग उठ्नु, आन्दोलनमा संलग्न भनिएका समूहबीच आन्तरिक भिडन्त हुनु, यी सबै घटनाले राजनीतिक संक्रमणलाई थप जटिल बनाएको विश्लेषण गर्नुहुन्छ कोइराला ।
राजनीतिक विश्लेषक भीष्मकान्त अधिकारी भन्नुहुन्छ– ‘सत्ता नेतृत्वका लागि अब प्रमुख चुनौती भनेकै यो संकटपश्चात् कहाँबाट पुनर्निर्माण सुरु गर्ने हो । राज्यको नीति, नेतृत्व र संस्थागत ढाँचा तीनै तहमा अस्वस्थता देखिएको छ । यसरी अस्थिर राजनीति जारी रहँदा सुरक्षा संकट अझ चर्किने खतरा छ ।’

आन्दोलनकारीमाथि प्रश्न

जेन–जी आन्दोलन सुरुवाती चरणमा युवापुस्ताको असन्तोष र नातावाद भ्रष्टाचारविरुद्धको प्रतिवादका रूपमा प्रस्तुत गरिएको थियो । तर, पछिल्ला हिंसात्मक गतिविधिले यसको शुद्धतामै प्रश्न उठाएको छ ।

प्रहरी चौकीमाथि योजनाबद्ध आक्रमण हुनु, सरकारी तथा निजी सम्पत्तिमा आगजनी र लुटपाट, राजनीतिक मागलाई अस्थिरता सिर्जना गर्ने औजार बनाउने यी सबै घटनाले आन्दोलनभित्र घुसपैठ भएको र संगठित आपराधिक नियत रहेको प्रस्ट पारेको छ । बाह्य शक्तिको संलग्नताको आशंका पनि बढेको देखिन्छ ।

सुरक्षाको सम्पूर्ण जिम्मेवारीमात्र राज्यलाई छाडेर पुग्दैन भन्ने सन्देश हालका घटनाले पुष्टि गरेको छ । समाजशास्त्री कोइरालाका अनुसार, टोल–टोलमा स्वयं–सुरक्षा समिति गठन नगरेसम्म हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिँदैन । नेपालको ग्रामीण समाजमा परम्परागत रूपमा रहेको गुठी, चौकीदार वा टोल समिति प्रणालीलाई पुनर्जीवित गर्नुपर्ने बहस सुरु भएको पनि उहाँ बताउनुहुन्छ ।

गिरेको प्रहरीको मनोबल उच्च अतिरिक्त तलब–सुविधा, मनोवैज्ञानिक सहयोग, प्राविधिक तालिम, प्रविधि–मैत्री सुरक्षा प्रणाली विकास, डिजिटल ट्रयाकिङ, साइबर निगरानी र सोसल मिडियाबाट सूचनाको पूर्व–विश्लेषण गर्ने व्यवस्था, राजनीतिक स्थायित्व कायम गर्ने, समाजस्तरको सहभागिता बढाउने, सामुदायिक प्रहरी, टोल प्रहरी, नागरिक–सुरक्षा सहकार्यलाई संस्थागत रूप दिनुपर्नेमा सुरक्षा विश्लेषकहरूको जोड दिएका छन् ।

जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक घुसपैठ, गुगल म्यापको दुरुपयोग, प्रहरीको मनोबलमा परेको असर, कैदी फरार र मन्त्रिपरिषद् पूर्ण नहुनु, यी सबै घटनाले मुलुकलाई गम्भीर सुरक्षा र राजनीतिक संकटतर्फ धकेलेको देखिन्छ । यो संकटलाई केवल आन्दोलनकारी वा सरकारको कमजोरीका रूपमा मात्र बुझ्न सकिँदैन । वास्तवमा, यसले नेपालकै सम्पूर्ण राजनीतिक तथा सुरक्षा संरचना नै संकटमा परेको देखाएको छ ।

अब प्रश्न यही हो, मुलुकको पुनर्निर्माण कहाँबाट सुरु गर्ने ? यदि, अहिलेको अवस्था आत्ममूल्यांकन र सुधारको अवसरमा परिणत गर्न सकिएन भने यो आन्दोलनमात्र होइन, सम्पूर्ण लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्न सक्ने खतरा छ ।