युएईले नेपालीलाई भिजिट भिसा अस्थायी रूपमा रोक्यो


काठमाडौँ ।

संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई दिइँदै आएको भिजिट भिसा सोमबार (भदौ ३०) देखि अस्थायी रूपमा रोक लगाएको छ।

यस सम्बन्धमा युएई सरकारले कुनै आधिकारिक सूचना सार्वजनिक नगरे पनि भिसा सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकका आवेदन लिन छाडेका छन्। आवेदन पेस गर्ने क्रममा उनीहरूलाई ‘नेपाली नागरिकका लागि भिजिट भिसा अस्थायी रूपमा रोकिएको’ जानकारी दिइएको छ।

भदौ २४ गते नेपालमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएकाले युएईले सतर्कता अपनाउँदै भिजिट भिसाको आवेदन अस्थायी रूपमा नलिने निर्णय गरेको बताइएको छ।

साथै, जेलबाट फरार भएका कैदीसम्बन्धी घटनाले समेत युएईले नेपालीलाई लक्षित गरी कडाइ गर्न थालेको बुझिएको छ।
नेपालबाट सर्वाधिक संख्यामा भिजिट भिसा लिएर जाने मुलुकमध्ये युएई प्रमुख गन्तव्य हो।

भिजिट भिसा रोकिँदा निकट भविष्यमा रोजगारी, भ्रमण वा पारिवारिक भेटघाटका लागि तयारी गरेका धेरै नेपाली प्रभावित हुने देखिएको छ।