“मन्त्री बनेपछि घिसिङको पहिलो निर्देशन : विद्युत् बक्यौता तत्काल उठाउन निर्देशन”


काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार (भदौ ३०) सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने ग्राहकका बक्यौता तत्काल उठाउन निर्देशन दिएका हुन् ।

प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबार बिहानै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

त्यसपछि मन्त्रालय पुगेका उनले ऊर्जा क्षेत्रको सुधार, पारदर्शिता र विद्युत् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।उनले भने, “विद्युत् क्षेत्रको आर्थिक शुचिता कायम गर्न बक्यौता उठाउने काम अब ढिला गर्न पाइँदैन ।”

मन्त्री बनेपछि पहिलो दिनमै दिएको निर्देशनलाई ऊर्जा क्षेत्रको राजस्व अभिवृद्धि र प्राधिकरणलाई आर्थिक अनुशासनमा ल्याउने पहलका रूपमा हेरिएको छ ।