काठमाडौं।
जेन–जी नेतृत्वको आन्दोलनले नेपालको राजनीतिक मात्र होइन, सामाजिक, आर्थिक र स्वास्थ्य संरचना नै हल्लाइदिएको छ । आन्दोलनको दोस्रो दिन मंगलवार भएको आगजनीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आगोको भुङ्ग्रोमा परिणत भएसँगै संघीयदेखि स्थानीय तहसम्मका स्वास्थ्य इकाईहरूमा व्यापक क्षति पुगेको तथ्यांक सार्वजनिक भएका छन् । यस घटनाले मुलुकको जनस्वास्थ्य सेवा, औषधि आपूर्ति, खोप कार्यक्रम र आपत्कालीन व्यवस्थापनमा ठूलो संकट खडा गरेको छ ।
आन्दोलन शान्तिपूर्ण मागबाट शुरू भए पनि दमन, गोली प्रहार र त्यसपछि भड्किएको जनआक्रोशले समाजलाई गहिरो आघात पु¥याएको छ । पहिलो दिन १९ जना नागरिकको मृत्यु र ४२६ भन्दा बढी घाइते भएपछि आन्दोलनले हिंसात्मक रूप लिँदा दोस्रो दिन मन्त्रालयलगायतका सरकारी संरचनामा आगजनी भयो । हुन त जेन–जीको आन्दोलनले मात्र नभई आम जनआक्रोशले गर्दा यस्तो भएको तथ्यहरू बाहिरिएका छन् ।
नागरिक र राज्यबीच विश्वासको दूरी बढेको छ । स्वास्थ्य सेवाजस्तै संवेदनशील संरचनामा आगजनी हुनु नै नागरिकहरूको निराशा र आक्रोशको चरम रूप हो । मृतकका आफन्त, घाइते, तथा स्वास्थ्य सेवामा भर पर्नुपर्ने आमनागरिकमा तनाव, आघात र दीर्घकालीन मानसिक स्वास्थ्य समस्या बढ्ने खतरा छ ।
आन्दोलनका क्रममा मधेस र वागमती प्रदेशमा बढी क्षति भएको देखिँदा प्रदेशगत असमानता र असन्तोष पनि यो आन्दोलनले देखाएको छ । स्वास्थ्य पूर्वाधार ध्वस्त हुँदा तत्कालीन क्षतिको मात्र होइन, दीर्घकालीन आर्थिक असर पनि गम्भीर रूपमा पुगेको छ । स्वास्थ्य मन्त्रालयसँगै स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) जलेर नष्ट भएको छ । यस इकाईले आपत्कालीन अवस्था, रगत, औषधि र स्वास्थ्य आपूर्ति व्यवस्थापन गर्ने जिम्मा लिएको थियो । युनिसेफको सहयोगमा संकलित विवरणअनुसार देशभर ३७ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन् ।
यसरी ध्वस्त पूर्वाधार पुनर्निर्माणमा अर्बौं रुपियाँ खर्चिनुपर्ने देखिन्छ । तत्काल आपूर्ति व्यवस्थापन गर्न आयात र अन्तर्राष्ट्रिय सहयोगमा भर पर्नुपर्ने देखिन्छ । आन्दोलनपछि जनस्वास्थ्य प्रत्यक्ष प्रभावित भएको छ । आगजनी र तोडफोड गर्दा १३ वटा खोपसँग सम्बन्धित संस्था ध्वस्त भएर खोप कार्यक्रम संकटमा परेको छ । यद्यपि, स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप कार्यक्रम नरोकिने बताउनुभयो । तर, तत्काल पुनःस्थापना नगरेसम्म बालबालिका र गर्भवती महिलाजस्ता लक्षित समूह जोखिममा पर्नेछन् । औषधिको भण्डारण जलेपछि औषधिको आपूर्ति चक्र खल्बलिएको छ । लामो समयसम्म आपूर्ति अवरुद्ध भए महामारी फैलिने खतरा हुने विज्ञहरूको ठम्याइ छ । एचईओसी नष्ट हुँदा आकस्मिक योजना र समन्वय क्षमतामा ठूलो गिरावट आएको छ ।
स्वास्थ्य सेवा सुधारका लागि के गर्ने ?
१. तात्कालिक राहत र आपूर्ति पुनःस्थापना, घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्ने, आपत्कालीन औषधि, रक्त आपूर्ति र जनस्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने, अस्थायी रूपमा वीर अस्पताल, अन्य सरकारी संरचनाबाट एचईओसी चलाउने ।
२. पूर्वाधार पुनर्निर्माण, क्षति भएका ३७ वटा स्वास्थ्य संस्थाको तत्काल पुनर्निर्माण योजना बनाउने । खोप केन्द्र र कोल्ड चेन सेन्टरहरूलाई प्राथमिकतामा राख्ने । नयाँ भवनहरूमा भूकम्प तथा आगलागी प्रतिरोधी मापदण्ड लागू गर्ने ।
३. जनस्वास्थ्य प्रणाली सुदृढीकरण
खोप कार्यक्रमलाई अन्तर्राष्ट्रिय सहयोगसहित सुरक्षित बनाउने, औषधि आपूर्ति चक्रलाई विकेन्द्रीकृत गर्दै स्थानीय तहलाई भण्डारण र वितरणमा अधिकार दिने, मानसिक स्वास्थ्यका लागि विशेष कार्यक्रम ल्याउने ।
४. सामाजिक पुनःसंरचना
आन्दोलनका पीडितलाई सामाजिक सुरक्षा र मनोसामाजिक सहयोग दिने । मृतकलाई सहिद घोषणा गर्ने । नागरिक–राज्य विश्वास पुनःस्थापना गर्न संवाद र जवाफदेहिताको अभ्यास बढाउने ।
५. आर्थिक पुनरुत्थान
अन्तर्राष्ट्रिय दातृ निकायसँग स्वास्थ्य पुनर्निर्माण कोष स्थापना गर्ने । क्षतिग्रस्त स्वास्थ्य संरचनालाई पुनर्निर्माण गर्न सार्वजनिक–निजी साझेदारी प्रयोग गर्ने ।
जेन–जी आन्दोलनले ल्याएको विनाश स्वास्थ्य संरचनामात्र नभई मुलुककै सामाजिक, आर्थिक र राजनीतिक संरचनामा चोट पुगेको संकेत हो । तर, संकटसँगै सुधारको अवसर पनि देखिएको छ । पारदर्शिता, जवाफदेहिता र दीर्घकालीन दृष्टिकोणसहित पुनर्निर्माणमा जुटेमा यो संकट भविष्यमा जनस्वास्थ्य प्रणालीलाई अझ मजबुत बनाउने आधार बन्न सक्छ ।











प्रतिक्रिया