काठमाडौं।
जेन–जी आन्दोलनले क्षतिग्रस्त सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही तंग्रिएको अवस्थामा रहे तापनि तत्काल नयाँ मन्त्रीलाई स्वागत गर्ने अवस्थामा छैन । शिक्षामन्त्रीको पदबहाली चाँडो भए मन्त्रालयकै स्वामित्वमा रहेको केशरमहल र ढिलो भए सिंहदरबारस्थित मन्त्रालयकै भवनमा स्वागत गर्ने तयारी छ ।
शिक्षासचिव चुडामणि पौडेलले नयाँ मन्त्रीको आगमनको समयअनुसार सिंहदरबार र केशर महल दुवै स्थानबाट मन्त्रालय सञ्चालन गर्ने तयारी शुरू भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एक साताभित्रै पदबहाली गर्नुपरे केशरमहलमा नभए सिंहदरबारमा पदबहाली गराउने तयारीमा छौं । केशरमहलमा पदबहाली गरिए सो भवनमा सचिवको कार्यकक्ष रहनेछ । सहसचिवले नेतृत्व गर्ने महाशाखा पनि त्यहीँ रहने छ । साथै केही महत्वपूर्ण शाखा पनि केशरमहलमै रहनेछन् ।’ शिक्षा मन्त्रालयको स्वामित्वमा रहेको केशरमहलमा केशर पुस्तकालय र सार्वजनिक खरिद अनुगमन कार्यालय छ । अनुगमन कार्यालयलाई पछि स्थानान्तरण गर्ने मन्त्रालयको भनाइ छ । स्रोतका अनुसार सिंहदरबार र केशरमहल बाहिर रहेका शिक्षाका निकायहरूलाई पनि केशर पुस्तकालयमा सार्ने योजना छ । मन्त्रालयका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘हामी केशर महल र सिंहदरबार दुवै भवनबाट काम गर्नेछांै, दुवै हाम्रा सम्पत्ति हुन् ।’ मन्त्रालयको शिक्षातर्फको भवनमा क्षति पुगे पनि विज्ञानतर्फकोमा भने खासै क्षति नभएका कारण विज्ञानको काम भने त्यही भवनबाट हुनेछ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयको अधिकांश कोठा धुवाँको मुस्लोले हेरिनसक्नु छन् । आगजनीको चौथो दिन शुक्रवार मुख्यसचिव एकनारायण अर्याल, शिक्षासचिव चुडामणि पौडेल र सहसचिवसहितको टोलीले मन्त्रालय अवलोकन गरेको थियो । मन्त्रालयको तल्लो तलामा रहेको राष्ट्रिय सतर्कता केन्द्र ध्वस्त थियो भने शिक्षामन्त्रीको कार्यकक्ष क्षतिग्रस्त थियो । सचिव पौडेल र केही सहसचिवको कार्यकक्ष तोडफोड भएको थियो । यसअघि मन्त्रालयलाई केशर महल र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा राख्ने तयारी थियो । तर, प्रत्यक्ष अवलोकनपछि मन्त्रालयमा धेरै क्षति भएको नदेखिएकाले मन्त्रालयका लागि केशर महल र सिंहदरबारलाई छानिएको मन्त्रालयका एक अधिकारीले बताए । उनले भने– ‘आगलागीपछिको अवस्था हेर्दा खासै डरलाग्दो छैन । कोठाको फोहोर मन्त्रालयकै कर्मचारीले एक दुई दिनमा सफा गरेर सक्ने बताएका छन् । मन्त्रालयको अन्डरग्राउन्डको पार्किङमा राखिएका गाडी र बाइकमा भएको आगलागीले निकालेको ध्वाँसोले भित्ताहरू कालो भएका छन् । मन्त्रालयका ४० वटा गाडीमध्ये १८ वटा ध्वस्त भएका छन् ।’ जेन–जी आन्दोलनको क्रममा तत्कालीन मन्त्री रघुजी पन्तको निवास भैंसेपाटीमा रहेका तीनवटा गाडी पनि ध्वस्त भएका थिए । मन्त्रालयले क्षतिको अध्ययन गरी पानी, बिजुली र इन्टरनेट जोड्ने काम शुरू गरेको छ ।











प्रतिक्रिया