चाडपर्वमा यात्रु सहजीकरणका लागि ६ बुँदे निर्णय


काठमाडौँ ।

चाडपर्वका बेला यात्रु सहज र सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकले ६ बुँदे निर्णय गरेको छ। आइतबार मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोवाइल्स एसोसिएसनलगायत सरोकारवालाको सहभागितामा भएको बैठकले यात्रु गुनासो तत्काल सम्बोधन गर्न उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने, उपत्यका छाड्ने सवारीसाधनको प्राविधिक जाँच र यात्रु सहायता कक्ष स्थापना गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधनको क्षतिपूर्ति प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने र हतियार वा संवेदनशील सामान सवारीसाधनमा ओसारपसार रोक्न तत्काल सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।

तर, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नेबारे भने बैठकले निर्णय गरेको छैन।