काठमाडौं । जेन–जी आन्दोलनका क्रममा श्रम तथा रोजगार मन्त्रीका रूपमा अधिवक्ता गोविन्द पन्थीको नाम युवापुस्ताले जोडतोडले उठाइरहेका छन्। प्रहरी सेवाबाट अवकाश पाएका पूर्व डिएसपी पन्थी पछिल्ला वर्षमा मानव बेचबिखन, वैदेशिक रोजगार ठगी र साइबर अपराधविरुद्धको सक्रियताका कारण युवामाझ लोकप्रिय बनेका हुन्।
२०७१ सालमा प्रहरी निरीक्षक रहँदा पन्थीले उपत्यका अपराध अनुसन्धान कार्यालयमार्फत मेनपावर र कन्सल्टेन्सीहरूको अवैध धन्दा कानुनी कठघरामा ल्याएर कारबाही गर्दा युवाको मन जितेका थिए। त्यसपछि २०७९ सालमा पुनः अपराध अनुसन्धान कार्यालयमा डीएसपीका रूपमा खटिँदा भुटानी शरणार्थी प्रकरण र भिजिट भिसाको नाममा भइरहेको ठूलो मानव तस्करी उजागर गर्दै ९ जना अध्यागमन अधिकारीसहित ४० जना दलाल, कन्सल्टेन्सी, ट्राभल एजेन्सी र नेताहरूसम्मलाई कानुनी दायरामा ल्याएका थिए। अनुसन्धान मन्त्रीस्तरसम्म पुग्दा उनको सरुवा भएको भन्दै युवाले उनलाई अझ सकारात्मक रूपमा लिन थालेका थिए।
प्रहरी सेवाबाट अवकाशपछि उनले “सरोकार केन्द्र” नामक संस्था स्थापना गरी वैदेशिक रोजगारीमा अलपत्र परेका र बेचिएका महिलाहरूको उद्धार तथा कानुनी सहायतामा सक्रिय भूमिका खेले। हाल अधिवक्ताको रूपमा कार्यरत पन्थीले आर्थिक कठिनाइका कारण न्यायको पहुँचबाट टाढा रहेका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएका छन्। साथै, अनलाइन ठगी, मानव बेचबिखन, वैदेशिक रोजगार ठगी र साइबर अपराधविरुद्ध दुर्गम क्षेत्रका विद्यालयसम्म पुगेर २५ भन्दा बढी प्रशिक्षण सञ्चालन गरेका छन्।
जेन्जी आन्दोलनका क्रममा समेत उनले सामाजिक सञ्जालमार्फत सुझाव र प्रत्यक्ष उपस्थित भएर भूमिका खेलेका थिए। विशेषतः साखुमा प्रहरी र प्रदर्शनकारीबीच ठूलो क्षति हुनसक्ने अवस्थामा मध्यस्थता गरेर दुवै पक्षलाई जोगाउन उनले देखाएको साहस युवामाझ प्रशंसा बटुलेको छ।
उनको निर्भीकतापूर्ण बोलाइ र लेखाइले समेत चासो बढाएको छ। भिजिट भिसा प्रकरणबारे प्रमाण सार्वजनिक गर्दा संसदसम्म उनको नाम गुञ्जिएको थियो। यस्तै, प्रहरी संगठनले गैरकानुनी रूपमा १४ जना प्रहरीलाई लामो समय नजरबन्दमा राखेको विषयमा आवाज उठाउँदा संगठनलाई आधिकारिक विज्ञप्ति निकाल्न बाध्य बनाएका थिए।
जेन–जी आन्दोलनमा संलग्न युवाहरूले रिपोर्टर्स क्लबमार्फत पत्रकार सम्मेलन गर्दै पन्थी जस्ता निर्भीक अधिकारी प्रहरी संगठनमा किन टिकाइएन भन्ने प्रश्न गरेका थिए। सामाजिक सञ्जालमा समेत उनको नामले ठूलो चर्चा पायो।
मानव तस्करीविरुद्ध कडा कदम चाल्ने, वैदेशिक रोजगारी व्यवस्थित गर्ने र पीडित युवाको भावना बुझ्ने तथा कार्यान्वयन गर्ने क्षमताका कारण पन्थी श्रम तथा रोजगार मन्त्रालयका लागि उपयुक्त पात्र भएको बुझाइ युवापुस्तामा देखिन्छ।











प्रतिक्रिया