काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयस्वरूप जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गरेकी छन्। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरिएको छ।
आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदबहाली गरेपछि उक्त निर्णय गरेको हो। सरकारका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सहिदको हैसियत दिने र तत्कालीन राहतस्वरूप परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ।
जेनजी आन्दोलनका क्रममा पछिल्ला दिनमा विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको थियो। प्रहरी प्रशासनका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ५१ नाघिसकेको छ भने सयौँ घाइते भएका छन्।
सरकारले सहिद घोषणासँगै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, गम्भीर घाइतेका लागि विशेष राहत प्याकेज ल्याउने र पुनः त्यस्ता घटना नदोहोरिने व्यवस्था गर्न पहल गर्ने जनाएको छ।
प्रधानमन्त्री कार्कीले निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्,–राष्ट्रका लागि बलिदान दिनेहरूलाई सरकारले उच्च सम्मानका साथ सम्झनेछ। न्यायपूर्ण समाज निर्माण हाम्रो साझा प्रतिबद्धता हो।











प्रतिक्रिया