काठमाडौं।
भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिनुभएको छ । शनिवार लामाको कार्यालयमार्फत जारी सन्देशमा उहाँले नेपाल–तिब्बतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
सन्देशमा दलाई लामाले भन्नुभएको छ– ‘तपाईंलाई थाहा नै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् । सन् १९५९ मा म जबरजस्ती तिब्बतबाट निर्वासित हुन बाध्य भएँ । त्यसबेला नेपाल सरकारले र नेपाली जनताले तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि दिएको सहयोगलाई म अझै पनि हृदयदेखि कृतज्ञतापूर्वक सम्झन्छु ।’
उहाँले थप्नुभएको छ– ‘तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए पनि नेपालको आर्थिक वृद्धिमा योगदान गर्दै आएकोमा म गर्व गर्छु ।’ भारतीय समाचार संस्था एएनआईका अनुसार, दलाई लामाले कार्कीको नेतृत्वमा नेपाली जनताका आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो चुनौतीपूर्ण घडीमा तपाईंले नेपाली जनताको आशा–आकांक्षा पूरा गर्ने क्रममा सफल हुनुहोस् भन्ने मेरो कामना छ । मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छन् ।’
दलाई लामाको यस्तो सन्देशले नेपाल–तिब्बतबीचको पुरानो आत्मीय सम्बन्धलाई अझ प्रष्ट्याएको विश्लेषकहरू बताउँछन् । उनीहरूको भनाइमा, नेपालको अन्तरिम नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा शुभकामना र समर्थन प्राप्त हुनु नयाँ सरकारको लागि सकारात्मक सन्देश हो । त्यस्तै, छिमेकी मुलुक भारत, संयुक्त राष्ट्र संघलगायतका देशले अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् ।











प्रतिक्रिया