कस्तो आउला प्रधानमन्त्री कार्कीको टिम ?

खल्तीबाट मन्त्री बनाउने परम्पराको अन्त्य हुनुपर्ने

10.43k
Shares

काठमाडौं।

जेन–जी पुस्ताको ‘बिजुली क्रान्ति’ पछि जेन–जीकै सिफारिसमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई धेरै नेपालीले असल र भ्रष्टाचार विरोधी प्रधानमन्त्रीका रूपमा प्रशंसा गरिरहेका छन् । कार्की शुक्रवार राती प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उहाँलाई भ्रष्टाचार देखिसहन नसक्ने व्यक्ति भन्दै आम नागरिकबाट अब मुलुकमा भ्रष्टाचारको अन्त्य हुने आशा राखेको पाइएको छ ।

यसो त जेन–जी आन्दोलनको मुख्य उद्देश्य पनि मुलुकमा झाँगिएको भ्रष्टाचारलाई अन्त्य गरी सुशासन स्थापित गर्न आवश्यक दबाब दिनु नै रहेको थियो । जेन–जी पुस्ताले सरकारलाई दबाब दिन थालेको आन्दोलन एकाएक दुई दिनको बीचमै उत्कर्षमा पुगी सत्तापलट हुन पुग्यो । आन्दोलन सफल भएपछि त्यसलाई थेग्न नसकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभयो भने जेन–जीकै मागबमोजिम प्रतिनिधिसभासमेत विघटन भएको छ । यद्यपि, प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि भने गम्भीर प्रश्न उठिरहेको छ ।

शुक्रवार कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदा सानो मन्त्रिपरिषद् बन्ने अनुमान गरिएको थियो तर मन्त्रिपरिषद्मा अन्य कोही सदस्य पनि आउन सकेनन् र कार्की आफैंले २१ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ । प्रधानमन्त्री कार्की आफैंमा राम्रो भए पनि एक्लैले केही गर्न नसक्ने र सिंगो टिममा रहने व्यक्तिहरू नै असल, विवादमा नपरेका, इमानदार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्न सक्ने व्यक्ति चाहिने विज्ञहरूको सुझाव छ । अन्यथा प्रधानमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसक्ने उनीहरूको भनाइ छ । सुशासनको विश्वव्यापी मान्यताअनुसार सुशासन माथिल्लो तहबाट थालिनुपर्छ त्यसका लागि सबैभन्दा पहिला प्रधानमन्त्री तथा मन्त्रीहरू आफैं इमानदार, पारदर्शी, चरित्रवान बन्नुपर्छ । सरकारले शुरूमा नै नागरिकद्वारा रुचाइएको, जनताको सेवामा समर्पित हुँदै आएको, विभिन्न कार्यक्षेत्रमा रहँदा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएको स्वच्छ छविको व्यक्तिलाई मन्त्रीको रूपमा ल्याएर राम्रो सन्देश दिन सक्नुपर्छ ।

जेन–जी आन्दोलनको रापतापबाट बनेको वर्तमान सरकारलाई मुलुकमा सुशासन कायम गर्ने, आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको भौतिक क्षतिको पुर्ननिर्माण गर्ने, आन्दोलनका क्रममा घुसपैठियाकै कारण मनोबल गिरेका आम कर्मचारी, प्रहरी तथा उद्योग व्यवसायीको मनोबल उच्च बनाउनुपर्नेलगायतका प्रमुख चुनौती छन् । अर्कोतर्फ ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरी नयाँ प्रतिनिधिसभा स्थापना गरी निर्वाचित सरकार बनाउनुपर्ने दायित्व त छँदैछ । यस्तो अवस्थामा प्रधानमन्त्री कार्की तथा जेन–जीले मन्त्री छनोटमा नै विशेष ध्यान दिनुपर्ने देखिन्छ । खल्तीबाट सिफारिस नगरेर मन्त्री बन्ने स्पष्ट मापदण्ड बनाई सोही मापदण्डअनुसार सम्बन्धित मन्त्रालय सम्बन्धमा जानकार तथा विषय विज्ञ व्यक्तित्वको खोजी गरिनुपर्छ । मन्त्रीका बारेमा जेन–जी समूहले कुनै छलफल चलाएको छैन । यसले पनि मन्त्रीहरू हचुवाकै आधारमा आउने हुन् कि भन्ने चिन्ता थपेको छ । हचुवाका आधारमा मन्त्री ल्याइएमा प्रधानमन्त्री कार्कीलाई काम गर्न असहज हुने र सिंगो सरकारको कार्यसम्पादन प्रभावकारी हुन नसक्ने विज्ञहरूको भनाइ छ । प्रधानमन्त्री कार्कीनिकट स्रोतका अनुसार मन्त्रीहरूका बारेमा आन्तरिक गृहकार्य थालिएको छ । एक दुई दिनभित्र सबै मन्त्रीहरू आउने गरी छलफल थालिएको स्रोतले जानकारी दिएको छ।

यस्ता हुन सक्छन् मन्त्री छान्ने २५ आधार

१. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका ‘भिजन’ दिन सक्ने

.जेन–जी आन्दोलनको मर्मलाई मनैदेखि आत्मसात् गरी मुलुकको हितमा रातदिन खट्न सक्ने

३.बहुदलीय व्यवस्थामार्फत समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण भएको

४. विगतमा कुनै सार्वजनिक जिम्मेवारीमा भएको भए उत्कृष्ट काम गरेको, विषय विज्ञ

५. व्यापारिक हित समूह वा स्वार्थ समूहसँग साँठगाँठ नभएको

६. समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्ने

७. विभिन्न कर्तुत गरी वर्ग उत्थान भई सम्भ्रान्त वर्गीय समूहमा रूपान्तरण नभएको

८. सधैं जनताकै निकट रही काम गरिरहेको

९. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको

१०. उच्चस्तरको नैतिकता र आचरण प्रदर्शन गरेको

११. सम्पत्ति विवरण वर्षैपिच्छे सार्वजनिक गर्न सक्ने हिम्मतिला

१२. राजनीति–प्रशासनका सीमा र अन्तरसम्बध प्रस्ट बुझ्न सक्ने

१३. राज्य कोषमा गिद्धेदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने

१४. मन्त्री भएपछि तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने

१५. उच्चनिर्णय क्षमता र सूचना प्रविधिबारे जानकार

१६.मन्त्रिपरिषद् बैठकमा आफ्नो मन्त्रालय सम्बन्धित विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने

१७. अन्य मन्त्रालयको काममा समेत सहजीकरण, समन्वय र सहकार्य गर्न सक्ने

१८. कर्मचारी परिचालन गर्न सक्ने खुबी र ल्याकत भएको

१९. भ्रष्टाचारको जालो बुझेर तोड्न सक्ने, माफियालाई तिरस्कार गर्न सक्ने

२०. मन्त्रालयको सम्पूर्ण कार्यमा कम्पन ल्याउन सक्ने

२१ .जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने

२२. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध

२३. २४सै घण्टा खट्न सक्ने (रेडी टु वर्क)

२४. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने

२५. तटस्थ र कसैलाई कुनै विभेद नगर्ने, नातावाद, कृपावाद र फरियावादबाट मुक्त भएको