काठमाडौं ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिएका छन्। उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रचेको भन्दै प्रशंसा गरेका छन्।
हमालले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सरकारसमक्ष प्रमुख रूपमा भ्रष्टाचार नियन्त्रणको माग गरेका छन्। उनले एक हप्ताभित्र भ्रष्टाचारीलाई अभियोगसहित कारबाही गरी सम्पत्ति राष्ट्रियकरण र जेल हाल्न आग्रह गरेका छन्।
त्यसैगरी, जेन्जी आन्दोलनमा शहीद भएका र घाइतेहरूको वास्तविक तथ्याङ्क सार्वजनिक गर्न पनि उनले सरकारसँग आग्रह गरे। शहीदको संख्या र घाइतेहरूको अवस्थाबारे अन्योल कायम रहेको भन्दै उनले स्पष्ट विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।
अन्त्यमा, मेयर हमालले प्रधानमन्त्री कार्कीको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै नेपालको विकास र सुशासनको आशा व्यक्त गरे।











प्रतिक्रिया