डा.शेखर कोइरालाले कांग्रेसको भविष्य तय गर्न देशव्यापी छलफलको आह्वान गरे


काठमाडौं ।

नेपालको राजनीतिमा उत्पन्न नयाँ परिस्थिती र जेनजी आन्दोलनका प्रभावबारे नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूले सार्वजनिक गरेका विचारहरुमा गम्भीर समिक्षा गरेका छन्। उनले भाद्र २३ र २४ गते भएका घटनाहरुलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको भविष्यको दिशा तय गर्नुपर्ने महत्वपूर्ण समय आएको बताएका छन्।

डा. कोइरालाले जेनजी आन्दोलनलाई मूलधारमा ल्याउन र यसका सकारात्मक पक्षलाई ध्यानमा राख्दै पार्टीलाई परिवर्तनको नयाँ युगमा अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए। उनका अनुसार, कांग्रेसले आम नागरिकको विश्वास जितेर देशको समृद्धि र युवा आकांक्षाहरुको प्रत्याभूति गर्नुपर्ने समय आएको छ।

उनले कांग्रेसको इतिहास र अतीतका नेताहरु—विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई लगायतका महान नेता र शहिदहरुको आदर्शलाई आधार मानेर पार्टीको भविष्यको मार्गदर्शन गर्ने आवश्यकता व्यक्त गरेका छन्।

डा.कोइरालाले भने, आजको दिनमा पार्टीको नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन र जनताको भरोसा जित्न देशव्यापी छलफल र विवेकपूर्ण कदमहरू आवश्यक छन्। उनले कांग्रेसको पुरानो धरोहर र विचारलाई समेटेर नयाँ दिशामा पार्टीलाई अघि बढाउने संकल्प व्यक्त गरेका छन्।

यसैगरी, उनले कोइराला निवासको जलेको संरचनासँगै लोकतान्त्रिक आन्दोलनका विचार र उद्देश्यलाई बलियो बनाउने कसम खाएका छन्। कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विचार र आन्दोलनलाई जलाउन सकिँदैन, डा. कोइरालाले भने।

साथै, उनले पार्टीको भविष्यका लागि जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् र आगामी दिनमा दशैं पछि देशव्यापी छलफलको आह्वान गरेका छन्।