काठमाडौं ।
प्रा. डा. गोविन्द केसीले हालसालै भएको नव–युवाको आन्दोलनमा सुरक्षाकर्मीले गोली प्रहार गरी दुई दर्जनभन्दा बढी नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको घोर भत्र्सना गर्नुभएको छ । उहाले यस्तो अमानवीय र गैरलोकतान्त्रिक घटनाले सम्पूर्ण राजनीतिक नेतृत्वको गैरजिम्मेवार चरित्र उजागर गरेको टिप्पणी गर्नुभएको छ ।
उहाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ—“विगत लामो समयदेखि दण्डहीनतासहित राजनीतिको चरम भ्रष्टिकरण, अपराधीकरण र स्वेच्छाचारीकरणले उत्पन्न बेथिति, बेरोजगारी र गरिबीले पिल्सिएका युवाहरूको जायज मागलाई बेवास्ता गर्दै गोली प्रहार गर्नु सरकार मात्र होइन, सम्पूर्ण राजनीतिक नेतृत्वको लज्जाजनक कार्य हो ।”
डा. केसीले आन्दोलनमा सहभागी युवाहरूको आवाज केवल सत्तापक्ष वा विपक्षीमाथि मात्र नभई विगतमा शासनसत्ता सम्हालेका सबै दल र नेतामाथि लक्षित रहेको भन्दै सम्पूर्ण राजनीतिक वृत्तले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
हिंसा र आगजनीप्रति चिन्ता
घटनापछि मुलुकभरि भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाले मुलुकलाई अराजकतातिर धकेल्ने खतरा देखिएको भन्दै उहाले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । “देशमा व्याप्त बेथितीविरुद्ध स्वतःस्फूर्त रूपमा उठेका नव–युवाको आन्दोलनलाई राजनीतिक तथा आपराधिक तत्वहरूले आफ्नो स्वार्थका लागि बदनाम गर्न खोज्नु दुर्भाग्यपूर्ण छ,” विज्ञप्तिमा उल्लेख छ ।
डा. केसीले पीडितका परिवारप्रति समवेदना प्रकट गर्दै आन्दोलनमा मारिएका, घाइते भएका र प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँनुभएको छ ।उहाले हालको तरल अवस्थाबाट निकास दिनका लागि स्वच्छ छवि, ईमानदार, अनुभवी तथा सक्षम व्यक्तित्वहरूको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने धारणा राख्नुभएको छ ।
उहाले पूर्वप्रधानन्यायाधीश, पूर्वप्रशासक र व्यवस्थापक, मेयर, चिकित्सक लगायतका गैर–राजनीतिज्ञ अनुहारहरूको नाम चर्चामा रहेको भन्दै नव–युवा पुस्ताका प्रतिनिधिहरूलाई समेत समेटेर मात्र आन्दोलनको मर्म अनुरूप कार्य गर्न सकिने उल्लेख गर्नुभएको छ ।“केही आपराधिक पृष्ठभूमिका व्यक्ति र पुराना राजनीतिज्ञहरूलाई अघि सार्ने प्रयास भइरहेकाले त्यस्ता तत्वलाई निरुत्साहित गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
सेनाको भूमिकाप्रति टिप्पणी
सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन ढिलाइ भए पनि अन्ततः सेनाले प्रभावकारी भूमिका खेलेको भन्दै उहाले धन्यवाद दिनुभएको छ । तर, प्रस्तावित अन्तरिम सरकारमा सेनाको प्रतिनिधित्व वा हस्तक्षेप हुन नहुने स्पष्ट अडान समेत व्यक्त गर्नुभएको छ । “दायित्व पूरा भएपछि सेना व्यारेक फर्कनुपर्छ,” उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
इमानदार कर्तव्य निर्वाहको आह्वान
डा. केसीले लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरी राखेर अन्तरिम सरकारले आन्दोलनका मागअनुसार काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले उल्लेख गर्नुभएको छ,“मुलुकले यस घडीमा हामी सबैबाट इमानदार नागरिक कर्तव्य र दायित्व निर्वाहको अपेक्षा गरेको छ ।”











प्रतिक्रिया