काठमाडौं ।
जेन जेड आन्दोलनको दोस्रो दिन २४ भदौमा राजधानीभरि भएको हिंसात्मक प्रदर्शनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण भवन, दर्जनौ गाडि, मोटर साईकल, कागजपत्र, उपकरण जलाएर मन्त्रालय भौतिक रूपमा ठप्प भएको छ । मन्त्रालयका कर्मचारीलाई दैनिक कार्य सम्पादनमा कठिनाइ उत्पन्न भएपछि मन्त्रालयलाई नयाँ स्थानमा सार्ने तयारीका लागि छलफल, सम्बाद सुरु गरिएको छ ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले मन्त्रालयको भवन लगायत सम्पूर्ण भौतिक संरचना र कागजपत्र कामै नलाग्ने गरी जलेपछि तत्काल नयाँ कार्यस्थल खोज्नुपर्ने बाध्यता आएको बताउनुभयो । उहाका अनुसार मन्त्रालयसँग दुई विकल्प छन् – पहिलो, सिंहदरबार पुर्ननिमार्ण पछि भित्रै मन्त्रालय सार्ने, र दोस्रो, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी रूपमा प्रयोग गर्ने ।
“ ढिलो चाँडो मन्त्रालय सिंहदरबार भित्रै जानुपर्ने हुन सक्छ । अहिलेको भवन पूर्ण रूपमा जलेर प्रयोग गर्न हुने अवस्थामा छैन । यदि सिंहदरबार भित्र छिटो पुर्ननिमार्ण सम्पन्न भयो र व्यवस्थापन मिल्यो भने त्यतै जाने प्राथमिकता छ,” सचिव डा.देवकोटाले भन्नुभयो ।
मन्त्रालय सार्ने भनिए पनि अहिले सामान सार्ने कुनै आवश्यकता छैन । किनभने भवनसहित सम्पूर्ण सामग्री पूर्ण रूपमा नष्ट भइसकेका छन्। डा. देवकोटा भन्नुहुन्छ— “अब जहाँ कार्यालय बन्छ, त्यहीँ आवश्यक नयाँ सामग्री जुटाउनुपर्ने हुन्छ ।”
यसैबीच, मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) भने वीर अस्पताल परिसरमा सारिएको छ । वीरको सर्जिकल भवनको एउटा कोठाबाट हाल आपतकालीन व्यवस्थापन केन्द्र सञ्चालन भइरहेको छ ।
२४ भदौ दिउँसो करिब २ बजेसम्म मन्त्रालयमा सामान्य कार्य सञ्चालन भइरहेकै थियो । तर, ठूला सरकारी भवनहरू जलाउँदै हिँडेको प्रदर्शनकारीको भीड स्वास्थ्य मन्त्रालय परिसरमा पसेर तोडफोड गर्दै आगजनी गरेको हो ।
आगो नियन्त्रण गर्ने कतैबाट पहल हुन नसक्दा मन्त्रालयको भवन पूर्ण रूपमा नष्ट भयो । त्यहाँ पार्किङमा रहेका सरकारी गाडीहरू समेत जलेर नष्ट भए ।
मंत्रालय पछाडिपट्टि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवन भने ठूलो क्षति हुनबाट जोगियो । परिषद्को भवनमा सामान्य तोडफोड र केही लुटपाट भएको परिषद्ले जनाएको छ ।
मन्त्रालय भवन जलेसँगै त्यहाँ कार्यरत कर्मचारीहरू गहिरो मानसिक दबाबमा परेका छन्। । कर्मचारीहरूले कार्यालय मात्र नभई आफ्नो दशकौंको सेवा–यात्रासँग गाँसिएको कागजात, अभिलेख र व्यक्तिगत सामग्री समेत नष्ट भएको पीडा व्यक्त गरेका छन्। ।
एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “हामीले आफ्नै हातले बनाएका थुप्रै नीति–कार्यक्रमका कागजात, मन्त्रालयका अभिलेख र महत्वपुर्ण फाइलहरू सबै एकैपटक खरानी हुनुले मनमा ठूलो आघात भएको छ ।”स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सार्ने योजना तत्काल कार्यान्वयन हुन नसकेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनलाई प्रयोग गर्ने विकल्प खुलेको छ । परिषद्को नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको र तत्काल प्रयोगयोग्य बनाउन सकिने जनाइएको छ ।
तर, मन्त्रालय सिंहदरबार भित्र गएमा मन्त्रालयबीचको समन्वय सहज हुने अधिकारीहरूको भनाइ छ । हाल अन्य मन्त्रालयहरू जस्तै वित्त, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय सिंहदरबारमै सञ्चालनमा रहेका छन्। । आगजनीमा यी मन्त्रालय पनि उस्तै अवस्थामा जलेका छन् ।
२४ भदौमा जेन जेड आन्दोलन हिंसात्मक बनेपछि राजधानीका विभिन्न सरकारी कार्यालय, यातायातका साधन र निजी सम्पत्तिहरूमा व्यापक क्षति भएको थियो । सोही क्रममा स्वास्थ्य मन्त्रालय समेत पूर्ण रूपमा जलाईएको छ ।
यस आन्दोलनले केवल भौतिक सम्पत्ति मात्र नभई सरकारी संस्थाहरूको नियमित सेवा–प्रवाहमा समेत ठूलो धक्का पुर्याएको छ । मुलुककै महत्वपूर्ण मन्त्रालयमध्ये एक, स्वास्थ्य मन्त्रालय ठप्प हुँदा स्वास्थ्य नीति तथा बजेटसँग सम्बन्धित कामहरू प्रभावित भएका छन्। ।
विशेषज्ञहरू भन्छन, यो घटनाले मन्त्रालयको कार्यप्रणालीलाई आधुनिक र डिजिटल स्वरूपमा रूपान्तरण गर्ने अवसर पनि दिन सक्छ । पुरानो प्रणालीमा निर्भर भएर काम गर्दा अभिलेख सुरक्षित राख्न सकिएको थिएन । तर अब डिजिटल डाटाबेस प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव आएको छ ।
स्वास्थ्य मन्त्रालयको पुरानो भवन खरानी भएको यथार्थले सरकारी निकायहरूको संवेदनशीलता, अभिलेख व्यवस्थापन र भवन सुरक्षा नीति पुनःनिर्माण गर्नुपर्ने दबाब बढाएको छ ।
स्वास्थ्य मन्त्रालय जलेको घटनाले सरकारी संरचनाको भौतिक मात्र नभई संस्थागत कमजोरी पनि उजागर गरेको छ । तत्कालीन चुनौती भनेको नयाँ कार्यस्थल व्यवस्थापन गर्दै सेवाहरूलाई प्रभावित हुन नदिने हो । अब मन्त्रालय सिंहदरबारमा जान्छ वा अस्थायी रूपमा अनुसन्धान परिषद्को नयाँ भवन प्रयोग गर्छ भन्ने निक्र्योल छिटै होस । जनस्वास्थ्य प्रति सबैको ध्यान पुगोस् ।











प्रतिक्रिया