“बालबालिकाको अधिकारको रक्षा र हिंसाबाट संरक्षण गर्न CZOP राष्ट्रिय अभियानको अपिल”


काठमाडौं ।

शान्तिपूर्ण प्रदर्शनमा बालबालिका र युवाको ज्यान जाने, घाइते हुने र मानसिक असर पर्ने घटनाप्रति चाइल्ड्रेन एज जोन अफ पीस (CZOP) – राष्ट्रिय अभियानले गम्भीर चिन्ता व्यक्त गरेको छ।

गत २०८२ भदौ २३ गते सुरु भएको जेन जेड पुस्ताको आन्दोलनमा अहिलेसम्म ४ जना बालबालिकासहित ५१ जनाको मृत्यु भइसकेको र १००० भन्दा बढी घाइते भएको पुष्टि भएको छ।

CZOP ले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको माग गरेको छ।

बाल अधिकार उल्लंघन, विद्यालयमा आगजनी, हिंसात्मक गतिविधि र बालबालिकाको मानसिक स्वास्थ्यमा परेको नकारात्मक असरप्रति चिन्ता व्यक्त गर्दै संगठनले विद्यालयहरूलाई बालमैत्री वातावरणसहित पुनः सञ्चालन गर्न, बालबालिकालाई सुरक्षित वातावरण दिन, मनोपरामर्श सेवा र शान्तिमूलक कक्षाहरू सञ्चालन गर्न अपिल गरेको छ।

साथै, संवैधानिक आयोगहरूलाई बाल अधिकार केन्द्रित अनुगमन गर्न र आन्दोलनरत पुस्ताको माग संविधानको दायरा भित्र रहेर सम्बोधन गर्न आग्रह गरिएको छ।

-CZOP राष्ट्रिय अभियान, काठमाडौं