नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व


काठमाडौं। 

नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बनेकी  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१(४) अनुसार कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गर्दै शपथ गराएका हुन्।  

गत भदौ २३ गतेदेखि सुरु भएको जेनजेड आन्दोलनले चर्को रुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ गते पदबाट राजीनामा दिएका थिए]  । त्यसपछि मुलुक सत्ता रिक्ततामा पुगेको थियो । आन्दोलनकारी युवाहरूले संसद् विघटन गरी मात्र अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका थिए ।

शपथलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद् विघटन गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ । राष्ट्रपतिले स्वीकृत गरेलगत्तै संसद् विघटन हुनेछ र नयाँ संविधानसम्मत राजनीतिक मार्गचित्र तय गर्ने प्रक्रिया अघि बढ्नेछ ।

संविधानको धारा ६१(४) ले राष्ट्रपतिलाई विशेष परिस्थितिमा अन्तरिम मन्त्रिपरिषद गठन गर्ने व्यवस्था गरेको छ । उक्त प्रावधानअनुसार प्रधानमन्त्रीको पद रिक्त हुँदा संसद् सञ्चालन असम्भव हुने अवस्थाको समाधान स्वरूप अन्तरिम सरकार गठन गर्न सकिने व्यवस्था छ ।

त्यसै आधारमा राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशमा शान्ति, स्थिरता र संवैधानिक व्यवस्थालाई निरन्तरता दिन तथा आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न अन्तरिम मन्त्रिपरिषद गठन गरिएको हो ।”

सुशीला कार्की नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश थिइन् । कानुन क्षेत्रमा लामो अनुभव हासिल गरेकी  उनले न्यायिक स्वतन्त्रता, पारदर्शिता र मानवअधिकारको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएकी छन् ।