काठमाडौँ।
जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तयार देखिएका छन्।
तर संसद् विघटनको विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ।
अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानबारे गएराति राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच वार्ता भएको थियो।
वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले संसद् जीवित रहँदा गैरसांसदलाई प्रधानमन्त्री बनाउन संविधानले नदिने तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी थिइन्। राष्ट्रपति पौडेल भने संसद् विघटनको पक्षमा नरहेको स्रोतले जनाएको छ।
यसैबीच, यस विषयमा थप टुंगो लगाउन आज शुक्रबार बिहान ९ बजे पुनः छलफल तय गरिएको छ।











प्रतिक्रिया