शान्ति र प्रजातान्त्रिक अभ्यासलाई प्राथमिकता दिन अमेरिकी सिनेटरहरूको आग्रह


वाशिङ्टन डीसी।

नेपालमा पछिल्ला दिनमा देखिएको हिंसात्मक घटनाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी सिनेटरहरूले प्रजातान्त्रिक अभ्यासमार्फत शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

अमेरिकी सिनेटका वैदेशिक मामिला समितिसँग सम्बन्धित सिनेटर जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार जारी गरेको विज्ञप्तिमा हालैको हिंसा, मानवीय क्षति र आगलागीप्रति खेद प्रकट गरिएको छ। उनीहरूले पीडित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै दोषीलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्।

“नेपालले विगत दुई दशकमा नागरिकको निरन्तर संघर्ष र योगदानबाट महत्वपूर्ण प्रजातान्त्रिक उपलब्धि हासिल गरेको छ। यी उपलब्धिहरूको संरक्षण र सुदृढीकरण अब झनै आवश्यक बनेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै, भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरी सम्बोधन गर्दै नागरिकको विश्वास जित्न नेपाल सरकार सक्षम हुने विश्वास पनि सिनेटरहरूले व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, शान्त, स्थिर र प्रजातान्त्रिक नेपाल केवल नेपाली जनताकै होइन, अमेरिका र सम्पूर्ण क्षेत्रकै चासोको विषय हो।