फोटोग्राफीको सुरुवातमा एक पललाई कैद गर्नु जति महँगो थियो, उति नै जटिल पनि थियो । प्रविधिको गहिरो ज्ञान, धेरै समय र महँगो उपकरणको आवश्यकता पर्ने भएकाले त्यो केवल पेसेवरहरूको लागि मात्र सुरक्षित थियो । तर, सन् १८८८ मा जर्ज इस्टम्यानले सबै कुरा बदलिदिए । उनले स्थापना गरेको कम्पनी “कोडाक” ले ब्राउनी क्यामेरा प्रस्तुत ग¥यो । सस्तो, सानो र प्रयोगमैत्री क्यामेरा जसले पूरै उद्योगलाई रूपान्तरण ग¥यो । एउटा साधारण नारा, “तपाईंले बटन थिच्नुहोस्, बाँकी काम हामी गर्छाँै” मार्फत कोडाकले फोटोग्राफी सबैका लागि सजिलो बनायो । पेसेवरहरूको क्षेत्र मानिएको फोटोग्राफी अब परिवारको दैनिक रमाइलो बन्न थाल्यो । जन्मदिन, चाडपर्व र जीवनका हरेक पलहरू अब सजिलै साँचेर राख्न सकिने भयो । कोडाकले केवल फिल्म मात्र बेचिरहेको थिएन, सम्झनाहरू पनि बेचिरहेको थियो ।
२०औँ शताब्दीको क्रमसँगै कोडाक घर–घरको प्रिय बन्यो, जसको नाम नै फोटोग्राफीसँग जोडिन थाल्यो । यसको प्रसिद्ध मार्केटिङ अभियान, “कोडाक मोमेन्ट्स” ले तस्बिरहरूमा समेटिएका भावनात्मक मूल्यहरू प्रस्तुत गर्दै लोकप्रियता कमायो । कम्पनी नवप्रवर्तनको पर्दा पछाडिका पावरहाउसका रूपमा कोडाकक्रोम रंगीन फिल्म र पोलारोइडसँगै इन्स्टेन्ट क्यामेरा थियो । कोडाक अघि बढेको मात्र थिएन सँगसँगै विश्व फोटोग्राफीको नेतृत्व पनि गरिरहेका थिए । संसारभर ओगटेको ठूलो बजार र विश्वव्यापी पहिचानसहित कोडाक एकप्रकारले अजेय जस्तै बनेको थियो ।

तर, १९९० को दशकमा डिजिटल फोटोग्राफीसँगै फोटोग्राफी क्षेत्रमा शान्त क्रान्तिको सुरुवात भयो । शुरूका डिजिटल क्यामेराहरू ठूला, महँगा र न्यून गुणस्तरीय थिए । कोडाकले त्यसलाई बेवास्ता ग¥यो । कम्पनीको नजरमा डिजिटल फोटोग्राफी केवल प्रविधि प्रेमीहरूको खेलौना मात्रै ठाने । फिल्म व्यवसायका लागि कुनै खतरा नभएको सम्झे । विडम्बनापूर्ण त के भने कोडाकले सन् १९७० को दशकमै पहिलो डिजिटल क्यामेरा विकाससँगै बहुमूल्य पेटेन्टहरू पनि प्राप्त गरिसकेको थिए । तर, आफ्नो नाफामूलक नेगेटिभसहितको फिल्म व्यापारलाई नोक्सान पुग्ने डरले गर्दा आफ्नो नयाँ आविष्कारलाई दबाएर राखेका थिए ।
कोडाक हिच्किचाइरहँदा सोनी, क्यानन र निकोनजस्ता प्रतिस्पर्धीहरूले डिजिटल प्रविधि अपनाए । ती कम्पनीहरूले अध्ययन र विकासमा ठूलो लगानी गरे । थप राम्रो, सस्तो र प्रयोगमैत्री डिजिटल क्यामेराहरू बजारमा ल्याए । उपभोक्ताहरूले त्यसलाई खुलेर स्वीकार गरे । अनि नेगेटिभ फिल्म बजार खुम्चिन थाल्यो र कोडाक पछाडि पर्न थाल्यो । डिजिटल लहरलाई अंगाल्नुकै सट्टा, कोडाकले आफ्नो पुरानो उत्पादनहरूमा अझै जोड दिइरह्यो । अन्ततः यही निर्णय घातक सावित बन्यो । फिल्म बिक्री धराशायी हुँदै गयो, नाफा हराउँदै गयो र कम्पनीले हतारिएर निर्णयहरू लिन थाल्यो । दीर्घकालीन रणनीतिक सोचको कमी र आफ्नो व्यापार मोडललाई चुनौती दिन नसक्ने मानसिकताले कोडाक डुब्दै गयो । फलस्वरूपः सन् २००० को दशकको सुरुवातमा कर्मचारी कटौती गरियो र अन्ततः सन् २०१२ मा कोडाकले टाटपल्टेको घोषणा ग¥यो ।
यो एउटा दुःखद् विडम्बना थियो । कोडाकसँग प्रविधि, पेटेन्ट र दक्षता सबै थियो । डिजिटल फोटोग्राफी क्रान्तिको नेतृत्व गर्न सक्ने सबै खुबी कोडाकसँग थियो । यद्यपि कम्पनीले “कोडाक डीसीएस” नामक डिजिटल क्यामेरा पनि सार्वजनिक गरेका थिए । तर, त्यो महँगो र उपभोक्ताहरूको चाहनाअनुसार नभएपछि चलेन । कम्पनीको सोच छोटो समयको नाफामा केन्द्रित थियो, जसले दीर्घकालीन सम्भावनालाई दबाइदियो । कोडाकले प्रविधि परिवर्तनलाई कम प्राथमिकतामा राख्यो । यही कारणले सबै कुरा खोस्यो । टाटपल्टेको केही समयपछि नै बजारमा पुनः फर्केपछि कोडाकले नयाँ दिशामा पाइला चाल्यो । अब उपभोक्ताको फोटोग्राफीमा केन्द्रित नहुने निर्णय गर्दै कम्पनीले व्यावसायिक प्रिन्टिङ, इमेजिङ प्रविधि र यहाँसम्म कि औषधी क्षेत्रमा पनि हात हाल्यो ।
यस्ता रणनीतिले कम्पनीलाई जीवित त राख्यो, तर गौरवमय अतीतको साखलाई भने फर्काउन सकेन । कुनै समयको विशाल कम्पनी अब धेरैले भुलिसकेका थिए । कहिलेकाहीँ सानातिना सफलता र ढिलो आर्थिक सुधार भए पनि कोडाकले आफ्नो पूर्व विरासत पुनः प्राप्त गर्न सकेको छैन । जसको नाम कुनैबेला फोटोग्राफीको पर्यायवाची हुने गथ्र्यो अहिलेको पुस्ताका लागि कथा जस्तै बनिसक्यो । कोडाकको कथाले अतीतको सफलतालाई भविष्यको ग्यारेन्टी भन्न नमिल्ने एउटा शक्तिशाली सन्देश दिएको छ । संसारका सबै व्यवसायहरूका लागि कोडाकको उदय र पतन केवल इतिहास मात्र होइन, कि समयसँगै अगाडि बढ्नु, कि त हार्न तयार रहनु भन्ने एउटा नैतिक शिक्षा पनि हो ।











प्रतिक्रिया