स्वास्थ्य मन्त्रालय जलेपछि आपत्कालीन काम भर्चुअल र वीर अस्पतालबाट सञ्चालन

3.38k
Shares

काठमाडौं 

जेनजी आन्दोलनका क्रममा आगजनीपछि पूर्ण रूपमा जलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्कालै सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । स्वास्थ्य मन्त्रालय युवाको जोसमा खण्डहर मरुभूमिमा परिणत भएको छ । विश्वमा कहीँ पनि नभएको परिवर्तन युवाहरुले गरेर देखाएका छन् । अस्पतालमा बिरामीले खचाखच भरिएका र युवा पुस्ताका ३२ जनाले ज्यान गुमाई सकेका छन् । १ हजार ८१ जना यही आन्दोलनमा होमिएकै कारण अस्पतालको शैयामा छटपटाईरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरीह जलिरहेको थियो । 

कठै बिचरा भन्ने कोही थिएनन् । अस्पतालमा छटपटाई रहेका घाइतेको उपचारका लागि आवश्यक पर्ने नीति, नियम, कानुन र आवश्यक जनशक्ति, औषधि व्यवस्था गर्नुपर्ने निकाय यतिबेला खरानीमा परिणत भएको छ । मन्त्रालयको सम्पूर्ण भवन प्रयोग अयोग्य बनेपछि हाल उच्च अधिकारीहरू भर्चुअल   बैठकमार्फत आवश्यक काम र सरसल्लाह भर्चुअल र वीर अस्पतालको कोठामा बसेर गरिरहेका छन्। ।

मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) पनि जलेपछि त्यसलाई अस्थायी रूपमा वीर अस्पतालमा सारिएको छ । आपत्कालीन अवस्था र विपद् व्यवस्थापनमा सक्रिय एचईओसीले हाल आन्दोलनका घाइते र मृतकहरूको तथ्याङ्क संकलन, उपचार समन्वय र स्वास्थ्य सेवा सहजीकरणलाई निरन्तरता दिइरहेको छ ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले मन्त्रालय पूर्ण रूपमा जलेकोले तत्कालै काम सुरु गर्न नसकिएको बताए । “हामी मुख्य सचिवसँग भर्चुअली  मिटिङ गरिरहेका छौँ । हाल मन्त्रालयको प्राथमिकता आन्दोलनमा घाइते भएकाको उपचारमा कुनै कमी नहोस् भन्नेमा केन्द्रित छ । औषधि, रगत, आईसीयू र जनशक्ति व्यवस्थापनमा ठूलो चुनौती भए पनि हाम्रो प्रयास उपचारमा अवरोध नआओस् भन्ने हो,” उनले भने । 

एचईओसीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल पाण्डेका अनुसार, मन्त्रालयभित्रको ब्लक जले पनि आपत्कालीन काम निर्बाध रूपमा भइरहेको छ । “देशभरका अस्पतालहरूसँग समन्वय गरेर तथ्याङ्क संकलनदेखि उपचार व्यवस्थापनसम्म सबै काम भइरहेको छ । अब वीर अस्पतालमै अस्थायी कार्यालय स्थापनासहित अघि बढ्ने योजना छ,” उनले जानकारी दिए ।

एचईओसीको पछिल्लो विवरणअनुसार हालसम्म देशभरका ३१ वटा अस्पतालमा १,०८१ जना घाइतेको उपचार भएको छ । तीमध्ये ७४५ जना डिस्चार्ज, २८८ जना भर्ना भई उपचाररत छन् भने ३२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र एचईओसीका अधिकारीहरूका अनुसार, आन्दोलनले देखाएको गम्भीर मानवीय संकटलाई नियन्त्रणमा लिन स्वास्थ्यकर्मी र कर्मचारीहरू दिनरात खटिरहेका छन्। । विषम परिस्थितिमा समेत स्वास्थ्य सेवा निरन्तरता दिन सफल भएको भन्दै मन्त्रालयले सर्वसाधारणलाई शान्त रहन र उपचार व्यवस्थापनमा सहयोग गर्न अपिल गरेको छ ।

युवा पुस्ताले आफ्नो कुरालाई सबैले समर्थन गरेर अघि बढ्नुपर्ने र आन्दोलनमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली अपर्ण गर्दै घाइतेको सीर्घ स्वास्थ्य लाभको कामना गर्दै रिपोटर्स क्लवमा प्रस्तुत गरिरहँदा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु स्वास्थ्य सेवा कहाँ बसेर कसरी दिने भन्ने विषयमा सचिव र मुख्य सचिव लगायतका टोली भर्चुअल छलफल गरिरहेका थिए । युवाले सबैको साथ र सहयोगको अपेक्षा गर्दै पत्रकार सम्मेलन गरिरहँदा आफ्ना एजेन्डा सार्वजनिक राखेका थिए । हामी वार्ताका लागि तयार छौ भन्दै थिए । 

सुदन गुरुङ जेनजीका नेताले एउटा सपना थियो । देश परिवर्तन हुन्छ भन्ने आशा थियो । आज बल्ल तपाईहरु सबैजनालाई देख्दा देश परिवर्तन भएको महसुस गरेको छु भन्दै भावुक भए । उनले सानासाना भाईहरुलाई गोली हानी मारेको देख्यौ । परिवर्तन माग्दा गोली खानुपर्ने । प्रहरीहरुको पनि हात कामेन त्यति साना बालकहरुलाई गोली हान्दा । मानवता पनि थिएन । जस्ले ती बालकलाई गोली हाने जमिन मुनी भए पनि निकाल्छु । हरेक भ्रष्टाचारीलाई तानी तानी ल्याउँछु । एक रुपैयाँ छोड्दिन्न । मेरो देशलाई लुट्ने नेताहरुलाई कसैलाई छोड्दिन्न । तपाईहरु जहाँ जहाँ लुक्नु, भाग्नु छ भाग्नुस् । जहाँ गए पनि छोड्दिन्न । 

भाई, बैनीहरु विदेश गएको गएकै छन् । अब हामीले नेपाललाई बृद्धाश्रम बनाउँने ? देश नेपाल हो र म नेपाली हो । विदेश जानुस तपाईलाई कांग्रेस, एमाले भन्छ ? नेपाली भन्छ भन्दै भक्कानीदै रोईरहेका देखिन्थे । उनी राजनीति राजनीति भनिरहेका छन् के हो राजनीति भनेको भन्दै गोली लागेका युवाको रगतको मूल्य चुकाउने प्रतिबद्धता व्यक्त गरिरहेका थिए ।