अपडेट :कैदी नियन्त्रण, झडपमा २ को मृत्यु, ९४ नाल हतियार बरामद


काठमाडौँ ।

देशभर विद्यमान असामान्य परिस्थितिमा नेपाली सेना सहितका सुरक्षा निकाय सक्रिय बनेका छन्। हिजो बेलुकी १८:०० बजेदेखि आज बिहान १०:३० बजेसम्मको सुरक्षागत गतिविधिबारे सेनाले दिएको जानकारीअनुसार विभिन्न घटनामा कैदी नियन्त्रणदेखि शङ्कास्पद वस्तु डिस्पोज र हतियार बरामदसम्मका कारबाही भएका छन्।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका १९२ जना कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ। त्यस्तै, कञ्चनपुरको चाँदनीमा भारततर्फ भाग्न लागेका ७ कैदीलाई भारतीय सीमा सुरक्षा बल (SSB) ले पक्राउ गरी नेपाली सेनालाई बुझाएको हो। साथै, १ कैदीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् भने १२ कैदी स्वयं कारागारमा उपस्थित भएका छन्।

रामेछापस्थित जिल्ला कारागारमा ‘बाहिर जान दिनुपर्छ’ भन्ने माग गर्दै कैदीहरूले गरेको झडप नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ।

यसैबीच, काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ नयाँ बस्तीमा फेला परेको शंकास्पद वस्तु सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

हालसम्म ९४ नाल विभिन्न हतियार बरामद भएको सेनाले जनाएको छ।