रौतहट ।
दुई दिन अघि भारतीय प्रहरीले नियन्त्रणमा लिएका गौर कारागारका फरार १७ जना कैदीलाई रौतहट प्रहरीको जिम्मा लगाएको छ । भागेर भारत पुगेका गौर कारागारका कैदीलाई भारतीय सीमा सुरक्षा बलले विभिन्न स्थानबाट पक्राउ गरी बैरगनीया थाना प्रहरीको जिम्मा लगाएको थियो । कानुनी प्रक्रिया पूरा गरी बैरगनीया थाना प्रहरीले रौतहट प्रहरीको जिम्मा लगाएसंगै उनीहरू पुन गौर कारागार चलान भएका छन् ।
गत मंगलबार आन्दोलित रहेका जेनजी तिर सुरक्षाकर्मीहरु परिचालन भएको अबस्थामा कारागारको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै उनीहरुले योजनाबद्ध ढङ्गले ताल्चा फुटाई भागेर उनीहरू भारत पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी विनोद खडकाले भारतीय प्रहरीले फरार रहेका गौर कारागारका कैदी हस्तान्तरण गरेको बताए । उनले फरार रहेका कैदीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । गौर कारागारमा २ सय ९१ जना कैदी रहेकोमा गत मङ्गलबार जेनजीको आन्दोलनमा सुरक्षाकर्मी परिचालित भएको अबस्थामा कारागारको कमजोर सुरक्षाको फाइदा उठाउँदै २ सय ६४ जना फरार भएका थिए । फरार भएको सूचनाको आधारमा तत्कालै सुरक्षाकर्मीहरुले ३५ जना कैदीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो भने भारतीय प्रहरीले १७ जना कैदीलाई पक्राउ गरी रौतहट प्रहरी लाई हस्तान्तरण गरेपछि गौर कारागारमा बिहीबार कैदीको संख्या ७९ जना पुगेको छ ।











प्रतिक्रिया