गौर कारागारबाट फरार १३ जना कैदी  भारतीय प्रहरीको नियन्त्रणमा 

6.02k
Shares

रौतहट ।

गौर कारागारका ढोकाको ताल्चा फुटाएर भारत तर्फ भाग्दै गरेका तेह्र  जना कैदी  भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् । गत मंगलबार राती गौर कारागारबाट फरार भएका तेह्र  जना कैदीलाई भारतीय एसएसबीले पक्राउ गरी बैरगनिया थाना प्रहरीको जिम्मा लगाएको छ । उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर रौतहट प्रहरीको जिम्मा लगाउने जनाइएको छ । भारतीय प्रहरीको नियन्त्रणमार रहेकामा नौ नेपाली र चार भारतीय रहेका छन् ।

 भाारतीय प्रहरीको नियन्त्रणमा रहेका कैदीहरुमा भारतको पूर्वी चम्पारण घोड़ासहान बसबरियाका २२ वर्षीय मोनु जायसवाल, घोड़ासहन महुआई–७ का २३ वर्षीय राकेश कुमार, चिरैया थाना क्षेत्र दीपही–२ का १९ वर्षीय मुनिफ कुमार यादव र सीतामढी जिल्ला मेजरगञ्ज थाना मडपा सिरपालका २८ वर्षीय सुधीर कुमार महतो रहेका छन् ।

 यस्तै नेपालको रौतहट गौर नगरपालिका–४ का २७ वर्षीय जितेन्द्र गिरी, गरुडा नगरपालिका–५ का ३० वर्षीय गणेश साह, गडिमाई नगरपालिकाको समनपुर–१ का २४ वर्षीय सन्तोष राम, गरुडा नगरपालिका–५ का २३ वर्षीय रणधीर यादव, गौर नगरपालिका–५ का २८ वर्षीय विवेक मिश्र, ईशनाथ नगरपालिकाको औरैया–२ का २५ वर्षीय राजन साह सोनार, छतौना–४ का २४ वर्षीय अजय यादव, गौर नगरपालिका–४ का १७ वर्षीय राजेश पटेल, देवाही गौनाही नगरपालिका–५ का ४३ वर्षीय मोहन साह रहेका छन् । 

भारतीय पत्रिका बैरगनिया बाणीमा प्रकाशित समाचार अनुसार भारत बैरगनिया थानाका प्रभारी उमाशंकर रजकले भने, ‘नेपालबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका मध्ये भारतको बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणका फरार नेपालको गौर नगरपालिका निबासी विवेक मिश्र लाई सीतामढी न्यायिक हिरासतमा पठाइएको छ भने बाँकी १२ कैदीलाई भारतीय प्रहरीले नियन्त्रणमा राखेको छ ।’ उनका अनुसार  ‘भारतीय उच्च अधिकारीहरूको निर्देशनपछि काउन्टरपार्टसँगको समन्वयमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ । 

गौर कारागारमा मंगलबार साझसम्म २ सय ९१ जना कैदीबन्दीमध्ये २ सय ६४ जना फरार रहेकोमा यसअघि नेपाली शेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ३४ जना लाई पुन पक्राउ गरी कारागार चलान गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दी  मध्ये २७ जना कारागारमै रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख मनिष झाले फरार कैदी  पक्राउ पर्ने क्रममै रहेको बताए ।