रवि निस्किएपछि कारागारहरूमा विद्रोह

2.44k
Shares

हेटौंडा।

नक्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने निस्किएपछि त्यसको प्रभाव अन्य कारागारहरूमा देखिन थालेको छ । त्यहाँका कैदीबन्दी पनि विद्रोह गर्न थालेका छन् ।

मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट मंगलवार मध्यरात २ सय ६० जना कैदीबन्दी भागेका छन् । उनीहरू भीमफेदी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयको मोबाइल माग्ने र ढोका ढक्ढकाउन थाल्दा स्थानीयमा त्रास फैलिएको छ । कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दी तीन वटा गेट फुटाएर भत्काएपछि भागेका थिए । यस क्रममा भएको झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार जारी छ । कैदीहरू कारागारको गाडी लिएर भाग्ने क्रममा थिए ।

सुरक्षामा खटिएको सेनाले हवाईफायर गरेको थियो । ब्लकमा ५ सयभन्दा बढी कैदीबन्दी रहेकोमा करिब २ सय ३० जनालाई नियन्त्रणमा लिएर फर्काइएको छ । कारागारमा सशस्त्र प्रहरीले पनि हवाईफायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको ‘ख’ ब्लक भने सुरक्षित छ ।
यस्तै, सुरक्षा घेरा तोडेर चितवन कारागारमा रहेका अधिकांश कैदीबन्दी बाहिर निस्किएका छन् । भागेर जान नमानेका करिब ४० महिला कैदीबन्दी भने घर जान मानेका छैनन् ।

बालबन्दी सम्पर्कविहीन, कोही आफैं फर्किए

देशका ठूला सहरमा रहेका कारागारबाट ठूला कैदीबन्दी भागिरहेको मौका छोप्दै हेटौंडा उपमहानगरपालिका–११ स्थित बाल सुधार गृहबाट पनि बुधबार दिउँसो ७२ बालबन्दी अभिभावककै सहयोगमा फरार भएका थिए । तीमध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सुधारगृहलाई बुझाइसकेको छ । २ जना भने स्थानीय खोलामा केही घण्टा पौडीमा रमाएर आफैं फर्किएका थिए ।

सुधारगृहमा रहेका ९४ मध्ये ५७ जना भने नियन्त्रण बाहिर छन् । उनीहरू अभिभावकको सहयोगमा गेट तोडफोड गरी भागेका हुन् । दिउँसो खाजा तयार रहेको अवस्थामा करिब ३ बजेदेखि १५ मिनटमै घटना भएको सुधारगृह प्रशासनले जनाएको छ । कतिपय अभिभावकहरू बालकहरूलाई लिन अटो, गाडी र बाइक नै लिएर आइपुगेका थिए ।

उक्त घटनापछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले तत्काल खोजी कार्य शुरू गरेका छन् । मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले प्रहरी र सुरक्षाकर्मीहरूले बाँकी फरार बालबन्दीहरूको खोजी तीव्र बनाएको बताउनुभएको छ । भागेकामध्ये केही नजिकका आफन्तको घरमा छन् भने केही हेटौंडाको बसामाडीलगायत घरहरूमा पुगिसकेको स्थानीयले बताएका छन् ।

सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार करिब ४५ जनाको समूहमा आएका अभिभावकले बाहिरबाट ढुंगामुढा गर्दै नाराबाजीसहित गेट भत्काएका थिए । उहाँका अनुसार भारतका ३, तेह्रथुमका ३, इलामका २ बालकहरू पनि भागेको तर उनीहरूसँग पैसा नभएका कारण फर्केर आउने पक्का छ । उहाँका अनुसार केहीले टेलिभिजनमा देखिएको समाचार हेरेर राति नै पोकापन्तरा तयार गरी भाग्ने योजना बनाएका थिए ।

फरार हुनेहरूमा अधिकांश लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको र लामो सजाय तोकिएका रहेका गौतमले जानकारी दिए । उनीहरूमध्ये २२ जना भने नभाग्ने भनेर सुधारगृहमै बसेका छन् । १४ देखि २३ वर्ष उमेर समूहका ती बालकको सुरक्षार्थ सुधारगृहमा आठमात्र सुरक्षाकर्मी खटाइएको थियो । घटना भएको केहीबेरमै जिल्ला प्रहरी र सेनाको टोली पुगे पनि उनीहरू भागिसकेका थिए ।
भागेकाहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ र छिमेकी जिल्लाहरूमा समेत निगरानी बढाइएको छ ।