–अटेर गर्ने निकायको जलेर नष्ट
–माग्दा हैरान, अझै दिँदैनन्
काठमाडौं।
सर्वोच्च अदालत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विषेश सरकारी वकिलको कार्यालय, नेपाल बार एसोसियसन र जिल्ला अदालत जलेर ध्वस्त हुँदा सँगै रहेको राष्ट्रिय अभिलेखालय जोगिएको छ । जेन–जी पुस्ताले आगो लगाउन लाग्दा जेन–जी पुस्ताकै इतिहासलाई माया गर्ने अभियन्ता, तीनैवटा सुरक्षा निकाय, पुुरातत्व विभाग र अभिलेखालयका पूर्वकर्मचारीको संयमताले जोगिएको छ ।
आगो लगाउने र नलगाउने जेन–जी पक्षबीच वादविवाद भएको थियो । पछि हाम्रो इतिहास नै नामेट हुने भएकाले जलाउनु उचित नहुने भन्दै सामान्य तोडफोड गरी फर्किएको थियो । ‘शुरूमा जलाउने प्रयास जारी राखे, नेपाली सेनाको सुरक्षा दस्ताले अभिलेखालय घेरेपछि आन्दोलनकारी पछि हटे’ –अभिलेखालयका निमित्त महानिर्देशक कुमार श्रेष्ठले भन्नुभयो । पूर्वकर्मचारी, आग्रह गरेका कर्मचारी थिए आगलागी हुनसक्ने भन्दै हामीले सावधानी अपनाएका थियौं । आफ्नै कर्मचारीले जेन–जी पुस्तासँग मिलेर जोगाए ।
कर्मचारी र सादा पोसाकका सुरक्षाकर्मीले प्लेकार्ड बोकेका थिए । सम्पदा संरक्षण नेपालका पदाधिकारीले सादा पोसाकका सुरक्षाकर्मीलाई प्लेकार्ड बनाएर राखे । उनीहरूले दस्तावेज सुरक्षित राख्ने नेपालको एकमात्र ऐतिहासिक निकायमा आगलागी नगर्न आग्रह गरेका थिए । पछि आन्दोलनकारी फर्केर गए । अभिलेखालय जल्नबाट जोगाउन पुरातत्व विभागका प्रवक्ता एवं वरिष्ठ संरक्षण अधिकृत रामबहादुुर कुँवर नेपाली सेना परिचालन नहुन्जेलसम्म राती १० बजेसम्म कुरेर बसिरहनुभएको थियो ।
अभिलेखालय जले इतिहास जल्छ
पछिल्लो समय हनुमानढोका, राष्ट्रिय संग्रहालय, भक्तपुर दरबारलगायत क्षेत्रको दस्तावेज अभिलेखालयमा पुगेको छ । परराष्ट्र मन्त्रालयको महत्वपूर्ण दस्तावेज जोगिएको छ । सर्वोच्च अदालत र अभिलेखालयबीच दस्तावेज संरक्षण गर्ने विषयमा सम्झौता गर्ने तयारी थियो रोकियो । अब कहिल्यै यति धेरै दस्तावेज सर्वोच्चले पाउनेछैन ।
अभिलेखालयले मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालयलाई निर्णय भएको सबै जस्तावेज पठाइदिन पटकपटक आग्रह गरेको थियो । मन्त्रालयल नसुन्दा अधिकांश दस्तावेज जलेर नष्ट भयो । हाल आगलागी भएको निकायको कुनै पनि दस्तावेज अभिलेखालयलाई आएको छैन । परराष्ट्र मन्त्रालले केही दस्तावेज अभिलेखालयलाई सुरक्षित राख्न दिएको छ । ‘पछिल्लो समय अभिलेखालयमा नेपालको संंविधान, प्रतिनिधिसभाका अधिवेशनको दस्तावेज, पहिलो टाँचा लगाएको हुलाक टिकट, राजपत्रहरू प्राप्त भएको छ’ –अभिलेखालयका सूचना अधिकृत मनिता न्यौपानेले नेपाल समाचारपत्रसँग भन्नुभयो । ती डकुमेन्ट नआएको भए मंगलवारको जेन–जी आन्दोलनमा जल्ने थिए ।
अभिलेखालयमा करिब ३२ हजार हस्तलिखित, ११औं १२औं शताव्दीदेखि १९औं शताब्दीसम्मका इतिहास धर्म र संस्कृतिसँग सम्बन्धित तिब्बती लिपि एवं भाषाका करिब ८ हजार हस्तलिखित एवं ब्लकप्रिन्ट ग्रन्थहरू, देशका विभिन्न भूभागमा अवस्थित मठमन्दिर तथा गुम्बाहरू तथा विभिन्न व्यक्तिको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरूको माइक्रोफिल्म गरी संग्रह गरिएको छ ।
सन् ८१० इस्वीको उत्तरलिच्छवि लिपिमा लेखिएको स्कन्दपुराण, ८औं शताब्दीकै ताडपत्रमा लेखिएको उत्तरलिच्छवि लिपिको बौद्ध दर्शनको सद्धर्मपुण्डरिक सूत्र, ११औं शताब्दीतिरको पाली भाषामा ताडपत्रमा लेखिएको विनयपिटक, यस्तै १२औं शताव्दीमा शारदा लिपिमा लेखिएको नेपालको सबैभन्दा पुरानो हस्तलिखित ग्रन्थ कारण्यव्यूह सूत्र, सन् १३८० को जयस्थिति मल्लको संसारकै प्राचीन वैधानिक कानुन ‘न्यायविकासिनि’, नेपाल संवत् २८ को आयुर्वेदसम्बन्धी ग्रन्थ लंकावतार, नवौं शताब्दीको शैवतन्त्रसम्बन्धी युनेस्कोले मेमोरी अफ द वल्र्डमा राखिएको ग्रन्थ निश्वासतत्वसं लगायतका बहुमूल्य सामग्री संग्रहित छन् ।
इस्वी संवत् १९६७ मा स्थापना भएको अभिलेखालयमा एक हजार बढी दस्तावेज संग्रहित छन् । अभिलेखालयमा पृथ्वीनारायण शाहको दिव्य उपदेशको हस्तलिखित प्रति, मुन्सीखाना जैसीकोठा हँुदै परराष्ट्र मन्त्रालयमा रहेका लगभग १ हजार २ सय पोकामा रहेका ऐतिहासिक कागजपत्रहरू अभिलेखालयमा संकलित छन् ।
अभिलेखालयमा राखिएका अधिकांश ग्रन्थहरू वातानुकूलित प्रविधिमा छ । अति संवेदनशील जोखिममा रहेका ताडपत्र, भोजपत्रलगायतका हालसम्मका अति महत्वपूर्ण सामग्री अभिलेखालयमा सुरक्षित छन् । अभिलेखालयले करिब १ लाख ८१ हजार ग्रन्थहरू छविकृत गरेर राखिएको छ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रमाणित प्रतिसमेत संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यस्तै, मुन्सीखाना जैसीकोठा हँुदै परराष्ट्र मन्त्रालयमा रहेका लगभग १ हजार २ सय पोकामा रहेका ऐतिहासिक कागजपत्रहरू अभिलेखालयमा संकलित छन् । १ देखि २३ डिग्री सेल्सियस तापक्रम भएको, ५५ प्रतिशतदेखि ६५ प्रतिशतबीचको आद्र्रता भएको र सूर्यको प्रकाश निरोधक भण्डारण कक्षहरूमा संरक्षण गरी राखिएको छ । राष्ट्रिय गान, चुच्चे नक्सा, जनगणना, सुगौली, महाकाली, कालापानी, सन्धिलगायत दस्तावेज अभिलेखालयमा छैन ।
अभिलेख संरक्षण ऐन २०४६ को दफा ६ को उपदफा ६.१.१ मा पच्चीस वर्ष वा सोभन्दा पुरानो राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजात, ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र वा शिलापत्रको प्रतिलिपि वा तस्वीर प्रत्येक पहिलो टाँचा लागेको हुलाक टिकट तथा मनी अर्डर फर्म, हवाईपत्र पोस्ट कार्डको नयाँ प्रकाशन अभिलेखालयमा बुझाउनुपर्ने उल्लेख छ ।
सोही दफाको २.१ मा प्रतिवेदन, आर्थिक विवरण, सन्धि सम्झौता वा कुनै प्रकाशन, हस्तलिखित ग्रन्थ, किताब पत्रपत्रिका, चिठीपत्र, लिखत, चित्र वा तस्वीर, नक्सा, योजना चार्ट फाइल मिसिल वा रजिस्टरलगायतका महत्वपूर्ण सामग्री अभिलेखालयमा बुझाउनुपर्ने उल्लेख छ ।











प्रतिक्रिया