बाँके।
बाँकेको दुई ठाउँमा रहेको कारागार र बालसुधार गृहबाट कैदीबन्दी भागेका छन् । नौबस्तामा रहेको क्षेत्रीय कारागार र बालसुधार गृह तथा डुडुवामा रहेको बालसुधार गृहबाट कैदी, बालबन्दी भागेका हुन् ।
नौबस्ताको क्षेत्रीय कारागारमा रहेका ५ सय ८५ कैदीमध्ये १ सय ४९ जना, कारागार परिसरमै रहेको बालसुधार गृहमा १ सय ७६ जना रहेकोमा ७६ जना भागेका छन् । क्षेत्रीय कारागार र बालसुधार गृहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
त्यस्तै, डुडुवाको जयेन्दु बालसुधार गृहबाट बुधबार दिउँसो १ सय २२ जना बालबन्दी भागेका छन् । त्यहाँ २ सय २८ जना बालबन्दी थिए । कारागार प्रशासनले सामाजिक सञ्जाल हेरेर भड्किन सक्ने आँकलन गरेर मोबाइल चलाउन दिएको थिएन । तर, घरबाट जरुरी फोन आउँछ भनेर मोबाइल लगेका बालबन्दीले अन्यत्रबाट कैदीबन्दी, बालबन्दी भागेको देखेपछि दिउँसो सवा २ बजे गेटको लक फोडेर निस्केका हुन् ।
बालसुधार गृहका कर्मचारी किशोर शर्माले भाग्नेजति भागेको र भाग्न नचाहेका मात्रै बालसुधार गृहमा रहेको जानकारी दिनुभयो । यो बालसुधार गृहमा यसअघि पनि आपसमा झडप गर्दै बालबन्दी भागेका थिए । झगडालु बालबन्दीलाई यहीबाट नौबस्तामा सारिएको थियो ।
यसैबीच, बुधबार बाँके जिल्ला शान्त रह्यो । नेपाली सेनाको टोली परिचालन भएपछि नेपालगञ्ज शान्त भएको हो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, मालपोत, नापी, राजस्व कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, उच्च अदालत, भन्सार कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । ती कार्यालयमा बचेकुचेका सामान, नगद गएराति लुटपाट भएको थियो । जिल्ला अदालतमा धरौटीमा राखिएको करिब दश किलो सुन लुटिएको बुझिएको छ । सरकारी कार्यालयका टेबुल, कुर्सी, पंखा, फ्रिज, एसीसमेत अटोरिक्सामा लोड गरेर लगिएको थियो । बुधबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिकालगायत केही कार्यालयलाई आन्दोलनकारीले सफाई गरेका थिए । तोडफोड र आगजनी भएका सबै कार्यालयले सूचना निकालेर काम कारबाही स्थगित भएको जानकारी दिएका छन् ।











प्रतिक्रिया