काठमाडौँ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी घाइते भएका छन्। आन्दोलन चर्किँदै जाँदा सुरक्षा निकाय र आन्दोलनकारीबीच भिडन्त भइरहेका छन्, जसका कारण घाइतेको संख्या दिनप्रतिदिन बढ्दो छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म १ हजार ३३ जना आन्दोलनकारी वा सर्वसाधारण घाइते भएका छन्। तीमध्ये ७१३ जनालाई उपचारपछि घर पठाइएको छ भने ५५ जनालाई थप उपचारका लागि अन्य अस्पतालहरूमा रेफर गरिएको मन्त्रालयले जनाएको छ। अहिले देशभरका २८ वटा अस्पतालमार्फत घाइतेहरूको उपचार भइरहेको छ।
सबैभन्दा बढी घाइते राजधानीस्थित सिभिल अस्पतालमा भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार त्यहाँ हालसम्म ४३६ जना घाइते भर्ना भएका थिए। तीमध्ये ३४४ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाले ज्यान गुमाएका छन्। अन्य ८६ जना हाल पनि उपचाररत छन्।
त्यसैगरी नेशनल ट्रमा सेन्टरमा १६१ जना भर्ना भएका थिए। तीमध्ये ५८ जनाको उपचार अहिले पनि जारी छ भने ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाँकी ९५ जनालाई उपचारपछि घर फर्काइएको अस्पताल प्रशासनले जनाएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि आन्दोलनका क्रममा घाइते भएका २८ जना बिरामी भर्ना भएका थिए। तीमध्ये ५ जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् भने बाँकी २३ जनाको उपचार सकिएर उनीहरू घर फर्किइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५३ जना आन्दोलनकारी वीर अस्विपताल, एभरेष्भिट अस्न्नपताल लगायतका अस्पतालमा उपचाररत छन्। घाइतेहरूको अवस्थाबारे मन्त्रालयका प्रवक्ताले भने, “केहीको अवस्था गम्भीर छ। हामीले सबै अस्पतालहरूलाई आकस्मिक सेवा सशक्त बनाउन निर्देशन दिएका छौँ।”
मन्त्रालयले मृतकहरूको विवरण भने व्यक्तिगत सुरक्षाको कारण खुलाएको छैन। तर विभिन्न अस्पताल स्रोतका अनुसार घाइतेमध्ये धेरैजसो टाउको, छाती, खुट्टा र ढाडमा चोट लागेका छन्। केहीको अवस्था अझै पनि नाजुक रहेको चिकित्सकहरूले बताएका छन्।
मानव अधिकारकर्मीहरू र नागरिक समाजले आन्दोलनमा भइरहेका हिंसात्मक झडप र प्रहरीद्वारा अत्यधिक बल प्रयोग भएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न माग गरेका छन्।
त्यस्तै, स्वास्थ्यकर्मीहरू समेत उच्च दबाबमा रहेका छन्। सिभिल अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले भने, “अचानक धेरै घाइते आइपुगेका कारण आकस्मिक कक्षको भार अत्यधिक छ। हामीले दुई सिफ्टमा काम गरेर उपचार गरिरहेका छौँ।”
यता, आन्दोलनका नेतृत्वकर्ताहरूले पनि सरकारले आन्दोलनको आवाजलाई दमन गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले घाइतेको उपचारमा सरकार गम्भीर नभएको भन्दै स्वतन्त्र स्वास्थ्य सहायता टोली गठन गर्ने चेतावनी दिएका छन्।
यसबीच, सरकारले देशभरका सरकारी अस्पतालहरूलाई आकस्मिक अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक औषधि, उपकरण र मानव संसाधनको व्यवस्थापनका लागि विशेष टोली परिचालन गरेको जनाएको छ।यता आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयनै जलाएर ध्वस्त पारीसकेका छन् ।
अहिलेको अवस्थामा आन्दोलन चाँडो समाधानमा पुग्न नसके जनस्वास्थ्यमा थप संकट उत्पन्न हुने चेतावनी विज्ञहरूले दिएका छन्। उनीहरूले अस्पतालहरूमा हुने सम्भावित चाप, औषधिको अभाव र इमरजेन्सी सेवामा असर पर्ने अवस्था आउन सक्ने बताएका छन्।











प्रतिक्रिया