नयाँ नेताहरुबाट नागरिकका आशा

0
Shares

हाम्रो मुलुकमा लोकतन्त्र आएको पनि ४० वर्ष बित्न लागिसक्यो तर नेपाली जनताका राम्रा दिन आउन सकेनन् । देशले राम्रो मुहार फेर्न सकिराखेको छैन । नेपाली जनता खुशी हुन सकिराखेका छैनन् । यसका धेरै कारण छन् । खराब नेतृत्व, भ्रष्टाचार, भौगोलिक अवस्था, वातावरणका साथै छिमेकी मुलुकसँगको सम्बन्धमा राम्रो सुधार आउन नसक्नु मुख्य कारण रहेका छन् । यसबाहेक देश चलाउनेहरुमा कूटनीतिक ज्ञान नहुनु, स्वार्थी भावना हुनु, ठूलो सरकार हुनु, सानो देशमा संघीयता हुनु, विदेशी ऋणको भार बढ्नु, दास मानसिकता हुनु, अल्लडे स्वभाव हुनु, असन्तोषी र सानो सोच हुनु पनि देशले मुहार फुर्न नसक्नुका कारण हुन् ।

यसको सही समाधान भनेको नै सबै पक्ष आफ्ना ठाउँबाट सच्चिने हो । तर अफसोस, लोभ, अल्छीपना, ढिला सोच, राज्यले राम्रो भिजनलाई अपनाउन नसक्नाले मुलुक अधोगतितर्फ गयो । खासमा समाधान भनेको नै राज्य सकारात्मक हुनु र लचिलो भएर अघि बढ्नु हो । तर हाम्रो देशमा यस्तो हुन सकेन । आखिर जेन्जी पुस्ताको आन्दोलनको दुई दिनमै नेताहरु भाग्नुप¥यो । यो अवस्था आउनु नेताहरुका लागि त दुर्भाग्य हो नै, नेपालका लागि पनि दुर्भाग्य हो ।

राज्य भनेको कडा र उदार पनि हुन सक्नुपर्छ । तर यहाँ युवापुस्ताको कमाइमा रजाइँ र जनताको करबाट सकी–नसकी देश चलाइराखेको अवस्था छ । त्यसमाथि सधैँ ठूलो संख्यामा रहेको सरकारलाई पालिराख्नुपर्ने । हुन त अहिलेको घडीमा देशमा विकास नै भएको छैन भन्न मिल्दैन, तर अधुरो विकास भइराखेको छ । खाना खाँदा दाल तरकारीमा नुन–मसला नभएसरह भएको छ । अहिले देशको कहानी पनि यही नै हो । देशमा विकासको कुरा गर्ने हो भने कृषि, व्यापार व्यवसाय, जलस्रोत, टुरिजम, खानी आदिमा केही न केही विकास भएको छ तर सबै सुस्त किसिमले भएक छ । कतिपय पेन्डिङ अवस्थामा छन् । परिणामस्वरुप देश र जनताको उन्नति हुन सकेन । बरु यसको बदलामा नेता, कर्मचारी, ठूला व्यापारी, बिचौलियाहरु भने मोटाउने विकास भयो । त्यसैले अहिले यो अवस्था आयो ।

सधैँ सरकार र नेताहरुलाई गाली गरिराख्नुपरेको थियो । आजभोलि यो देशमा मानिस बस्न नरुचाउनुको कारण यो पनि एक हो कि नेताहरु नसच्चिनु । हुन त ठूलो मात्रामा नागरिकहरु विदेश पलायन हुनु राम्रो होइन तर बाध्यता बनेको छ । देश चलाउनेहरु अर्थात् नेतृत्व गर्नेहरु पनि त सच्चिनुप¥यो नि ! आफू र आफ्नो परिवारभन्दा पनि देश र जनतालाई फाइदा हुने भिजनहरु ल्याउनुप¥यो नि ! तर त्यो हुन सकेन । यस मामलामा नेताहरु आफ्नो दायित्वबाट पन्छिनुबाहेक केही गर्न सकेको देखिएन । वास्तवमा भन्ने हो भने, सबै पक्षको कमजोरीले गर्दा नै व्यक्ति, समाज र राज्यले अप्ठ्यारो जीवन भोग्न बाध्य भयो । मानिसहरु आजभोलि यति उकुसमुकुस भएर बस्नुपर्दैनथ्यो तर यहाँ ठग र बिचौलियाको फन्दामा पर्नुपरेको छ । कतिपय विदेशका सपनामा अल्झेर बस्ने गरेका हुन्छन् यहाँ । अब यस्तो हुनुभएन, सबै पक्ष सुध्रनु र सच्चिनु जरुरी छ । अनि मात्र मुलुक राम्रो हुने हो ।

अबको आशा भनेको देशमा राम्रा–राम्रा नयाँ बुद्धिजीवीहरु राजनीतिक क्षेत्रमा आएर मुलुकलाई राम्रो बनाऊन् । यो सानो देशमा पहिला सरकारलाई सानो बनाउने, नेतृत्व गर्नेहरु लचिलो हुने र कानुनलाई मजबुत बनाउने हो । साथै समाजका लागि उदार बन्ने, राम्रा नीतिहरु ल्याउने, करलाई केही समय न्यून गर्ने, रोजगारी बढाउने प्रयास गर्ने, नयाँ र राम्रा भिजनहरु ल्याउने, नाकाहरुमा पुलिस प्रशासन र आर्मीहरुलाई तैनाथ गर्ने, विदेशी ऋण बिस्तारै तिर्दै जाने गर्नुपर्छ । त्यस्तै संघीयता नै खारेज गर्न किन नपरोस्, माहुरीको झुन्डजस्तै हनुमानहरु नपाल्ने, आफ्नै देशको उत्पादनलाई बढाउने र हौसला दिने अनि अन्य मुलुकबाट आउने आयातीत सामानहरुमा नियन्त्रण गर्ने गर्नुपर्छ । नेपाली नागरिकले नयाँ नेताहरुबाट भविष्यमा आशा गर्ने यिनै कुरा हुन् ।

देशमा लोकतन्त्रपश्चात् धेरै राम्रा र नराम्रा मानिसहरुको समेत उपस्थिति भएको छ । नराम्रो नियतले गर्दा ठूलो सोचका साथ विकास गर्न सकेनन् । विकासको हिसाबले नेतृत्व गर्नेहरुले दौडाउन सकेनन् देशलाई । हामी जनता धैर्य गरिरहेको छौँ । मुलुकलाई सुधार्न मानिसहरुले आफ्नो राम्रो सोचलाई परिवर्तन नगरी सुख नै छैन । अहिले देशमा आफूले मेहनत गरेअनुसार प्रायले भौतिक सुविधाहरु प्राप्त गरिराखेको पनि देखिन्छ, सकी–नसकी । खालि यत्ति हो कि अझै पनि ‘देखना माल चाखना नहीँ’ जस्तो भइराखेको छ हाम्रो मुलुकमा । यही सिलसिलामा कुरा गर्नुपर्दा अहिलेको समयमा फेसबुक पनि हरेक दृष्टिको कारणले राम्रो नै थियो तर केही खराब संस्कार, गफ, गाली, कलह र उपलब्धभन्दा छाडा संस्कारले गर्दा राज्य यसलाई बन्द गर्न बाध्य भयो । तर पनि जेन्जी पुस्ताका लागि यो आवश्यकता थियो । उनीहरुको आन्दोलनले सरकारले सामाजिक सञ्जालहरु फुकुवा गर्न बाध्य भयो र आफू पनि चट् भयो । बिस्तारै फिल्टर भएर सामाजिक सञ्जालले निरन्तरता पाउने नै छ । खालि मानिसहरुले माथिदेखि नै आफ्ना खराब सोच र संस्कारलाई बदल्न सक्नुपर्छ ।

समग्रमा भन्नुपर्दा देशमा व्यक्ति, नेता, समाज सबै एकपल्ट सुध्रनै पर्छ । यसबाहेक एकले अर्कोलाई राम्रा कुरा निरन्तर सिकाउने, सम्झाउने, बुझाउने गर्नुपर्छ । यो देशलाई राम्रो बनाउने हो भने, सर्वप्रथम अब आउने नयाँ नेताहरुले राम्रो भिजन ल्याएर जनताका लागि काम गर्न सक्नुपर्छ । जनताका आशा पूरा ओऊन् ।