टोपबहादुर रायमाझी पनि फरार


काठमाडौँ।

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन्, जसमा भद्र बन्दी गृहका टोपबहादुर रायमाझी पनि समावेश छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए।

हाल कारागारमा कुल ३८ सय कैदीमध्ये करिब ५ सय मात्र बाँकी रहेका छन्। भद्रबन्दी गृहमा करिब १०० र महिला बन्दी गृहमा करिब १०० कैदी रहेका छन् भने सेन्ट्रल कारागारमा करिब ३ सय कैदी मात्र रहेका छन्।

भागेका कैदीमध्ये केही फेरि कारागार फर्किन थालेका छन्। अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केका छन् भने केही अन्य फर्किनेतर्फ छन्।

स्रोतका अनुसार, नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले राति १० बजे सुन्धारा कारागारमा तोडफोड गरेका थिए। सुरक्षा खटिएका प्रहरी त्यहाँबाट आर्मी हेडक्वाटर पुगेका थिए। अन्ततः नेपाली सेनाले कारागारमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो।