काठमाडौं।
–संविधानविरुद्ध दुई–दुई पटक संसद् विघटन गर्नु भ्रष्टाचार थियो, त्यो कानुनी भ्रष्टाचार केपी ओलीबाट भएकै हो, आजको अस्थिरतामा त्यसले जगको काम गरेको हो कि ?
-भाटभटेनीका साहुबाट करोडौंको जग्गा लिने, पार्टी केन्द्रीय कार्यालय बनाउन लाज नमान्ने, अनि भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने, कसले पत्याउने ?
-राजदूतलगायतका राजनीतिक नियुक्तिमा करोडौंसम्म असुल्ने, पार्टी त्यसै चल्छ भनेर इमान्दार कार्यकर्ता हप्काउने, के यो भ्रष्टाचार थिएन ?
-जेन–जीको शान्तिपूर्ण जुलुसमा घुसपैठ भयो भन्ने तर सुरक्षा व्यवस्था कडा बनाउन नसक्ने, एकै दिनमा १९ होनहार युवालाई टाउको र छातीमा गोली हानेर मार्ने!
-के सत्ताको उन्मादमा नरसंहार गर्नुभन्दा ठूलो भ्रष्टाचार अर्को हुन्छ ?
-नेपाली कांग्रेसका हरेकजसो नेता–कार्यकर्ताले चन्दा दिएरै देउवा–आरजुलगायतलाई पालेकै थिए, नपुगेर नक्कली भुटानी शरणार्थीको खेती गरेर मुलुकको बदनाम गर्नुपर्ने ! अनि कारबाही हुने थाहा पाएर रातारात केपी ओलीलाई समर्थन गरेर प्रधानमन्त्री बनाउने र आफू पहिलो दल भए पनि एमालेको पुच्छर बन्न तयार हुने ! यो राजनीतिक भ्रष्टाचारको पराकाष्ठा होइन ?
-समाजवादउन्मुख संविधान भनेको छ, कमिसन खाएको छ, सर्वहारा वर्गको नेतृत्व भनेको छ जनतालाई भेडो बनाएको छ, सुखी र समृद्ध नेपाल भनेको छ नेपालीलाई अनेपाली बन्दै विदेशमा जान बाध्य बनाएको छ ! एउटा नेताले सयौं झोलेहरू पालेको छ । जनताले आखिर कहिलेसम्म सहने !
जेन–जी पुस्ता जागेको छ ! नेकपा माओवादीले जुन काम एक दशकमा गरे, यस पुस्ताले सोही काम गर्न दुई दिन पनि लगाएन ! ‘इनफ इज इनफ’ !
जेन–जी पुस्ताले राष्ट्रिय र सार्वजनिक सम्पत्ति ध्वस्त बनाउने कामलाई भने रोक्नुप¥यो । ब्रेक बिग्रेको साइकलजस्तो अगाडि बढेको बढ्यै गर्दा भोलि कहाँ बसेर र केका आधारमा नेपालको शासन चलाउने ? सिंहदरबार बालेको छ, संसद्भवन खरानी पारेको छ, शीतल निवासलाई ह्वारह्वारी आगो बालेर तताएको छ ! प्लिज स्टप इट !
नेपाल आज इतिहासको सबैभन्दा निर्णायक मोडमा उभिएको छ । सोमबार र मंगलबारको रक्तपात, जसले २२ युवाको जीवन लियो र चार सयभन्दा बढीलाई घाइते बनायो, केवल एउटा प्रदर्शनमाथिको दमनमात्र थिएन । यो दशकौंदेखि पालिएको भ्रष्टाचार, नातावाद र अकर्मण्यताको प्रतिबिम्ब थियो । सरकारको दमनकारी कदमले देशभरि उठेको आक्रोशलाई अझै गहिरो बनाएको छ ।
यी सडकमा उत्रिएका युवाहरू केवल फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालका लागि लडेका होइनन्, उनीहरूको आन्दोलन पुस्तागत असमानता, राजनीति बेथिति, भ्रष्टाचार, बेरोजगारी, महँगी र लोकतान्त्रिक मूल्यहरूमाथि गरिएको निरन्तर प्रहारविरुद्ध हो । जेन–जीको स्वरमा आज सम्पूर्ण देशको पीडा गुञ्जिएको छ—‘हाम्रो आवाज किन सुनिँदैन ।’
नेपालमात्र होइन, विश्वभरका युवाले यस्तै आक्रोश पोखिरहेका छन् । हाम्रा नेताहरूले विदेशको उदाहरणबाट सिकेनन् । जसका कारण हिजोको अप्रिय घटना हुन पुग्यो । अब नेताहरूको दुर्गतिबाट प्रशासकहरूले पनि समयमै सचेत हुन जरुरी छ । प्रशासकहरूले जनताको काममा निकै दुःख दिने गरेको र घुस नखाई कुनै काम नबन्ने गुनासो आम बनिसकेको छ । राम्रा प्रशासक छन्भन्दा नपत्याउने परिस्थिति बनिसकेको छ ।
बंगलादेशमा कोटा आन्दोलन नरसंहारमा परिणत भयो, इन्डोनेसियामा मजदुरको न्यून ज्यालाविरुद्ध युवाले बलिदान दिए, फिलिपिन्समा शान्तिपूर्ण तर सिर्जनात्मक आन्दोलनमार्फत् असमानताविरुद्ध आवाज उठाइयो । यी सबै उदाहरणहरूले एउटै सत्य देखाउँछन् कि आजका युवापुस्ता असमानता र भ्रष्टाचारलाई अब सहन तयार छैन । केवल फरक यति हो कि सत्ताले त्यो आक्रोशलाई सुन्छ कि गोलीले थिच्छ ?
नेपालमा यो प्रश्नको जवाफ गोली प्रहार गरेर दिइयो । ‘जेन–जी फेन्जी’ भनेर अपमानित गरियो । त्यसको तत्कालीन परिणामस्वरूप देशव्यापी दबाब र आन्दोलनको उग्रताबीच अन्ततः भर्खरै विधान अधिवेशन गरेर तेस्रो पटक अध्यक्ष बन्ने सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभयो । ओलीको राजीनामाले जनआन्दोलनको न्यायपूर्ण मागलाई आंशिक सम्मान गरेको देखिन्छ, तर मात्र पदत्यागले समस्या समाधान हुँदैन । जेन–जीमाथि भएको अक्षम्य अपराध पदत्यागले धुलिँदैन, यो निकृष्ट कार्यमा संलग्न सबैलाई न्यायको कठाघरामा उभ्याउनै पर्छ र दशकौँदेखि सत्तामा पालिएका पुराना अनुहारहरूको राजनीतिक उपादेयतामा पनि पूर्णविराम लगाउनैपर्छ । शेरबहादुर देउवा र पुष्पकमल दाहालजस्ता नेताहरूले २०६३ पछिका महत्वपूर्ण वर्षहरू नालायकी र अकर्मण्यतामा बिताएको परिणामस्वरूप नै आजको संकट सिर्जना भएको हो ।
यस आन्दोलनको अर्को पक्ष पनि छ, त्यो हो ‘नेपो बेबी’ को विभाजनकारी संरचना । आम जनता अभावमा बाँचिरहेका बेला नेताका सन्तान कोही विदेशमा रमाइरहेका र कोही स्वदेशमा उच्च विलासी जीवन जिइरहेका दृश्यहरूले जनआक्रोशलाई चर्काएको छ । तर, पुराना पुस्ताले यी सबै असमानता, अन्याय, अत्याचार र बेथितिलाई चुपचाप सहेर विद्रोह नगरेको कारण नै जेनजी पुस्ताले विद्रोह गर्नुपरेको हो । उनीहरूको चाहना केवल शासन परिवर्तन होइन, संरचनागत सुधार पनि हो ।
हजारौं युवाको त्याग व्यर्थको बलिदानमा मात्र सीमित हुन दिनु हुँदैन र फेरि अर्को नयाँ नालायकलाई सत्ताको बागडोर सुम्पिने वातावरण दिनुहुन्न । यसलाई दिगो परिवर्तनमा रूपान्तरण गर्न रणनीति, अनुशासन र साझा दृष्टि आवश्यक छ । यही ठाउँमा अहंकार त्यागेर हातेमालो गर्ने युवानेता–नेत्रीहरूको भूमिका निर्णायक हुन्छ । बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल, कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका केही पात्रहरूलगायत युवामाझ विश्वासको आधार बनेकाहरूले यतिखेर महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरूको इमानदार छवि र सेवाभाव जेनजीको साहससँग जोडिएमा देशलाई नयाँ दिशा दिन सक्छ । तर, यदि उनीहरू पनि विभाजन र स्वार्थमा अल्झिए भने फेरि निराशा र शून्यमात्र बाँकी रहनेछ ।
अब के गर्ने ?
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख स्थायी राजनीतिको आधार हुनसक्छ । स्थानीय निकायलाई दलीय राजनीतिबाट मुक्त गर्नैपर्छ । यतिखेर ओलीको राजीनामाले अन्तरिम नागरिक सरकार गठनको बाटो खोलिदिएको छ । त्यस सरकारमा प्रबुद्ध नागरिक र इमानदार अनुहारहरूको अगुवाइ हुनुपर्छ, जसले केही महिनाभित्रै ताजा चुनावमार्फत जनादेश लिन सकोस् । दोस्रो, त्यो प्रक्रियामा युवापुस्तालाई नेतृत्वको केन्द्रभागमा ल्याउनै पर्छ । तेस्रो, आन्दोलनको ऊर्जा अराजकतामा नभई जवाफदेहीता र सुधारतर्फ मोड्न सक्नुपर्छ ।
इतिहासले अवसर दिएको छ, अबको लोकतन्त्र पुरानै अनुहारहरूले कब्जा गर्ने कि युवा ऊर्जासँगै नयाँ युग निर्माण गर्ने ? सोमबार र मंगलवारको रगतले चेतावनी दिएको छ—संरक्षणवाद र दमनले अब देशलाई टिकाउन सक्दैन । नेपाली समाजले अबको नेतृत्वको हरेक क्रियाकलापमा कडा निगरानी राख्नेछ ।











प्रतिक्रिया