जेनजी आन्दोलनबीच नेपाली सेनाको अपिल : संयमता अपनाउन आग्रह


काठमाडौं ।

जेनजी आन्दोलन चर्किँदै जाँदा नेपाली सेनाले मंगलबार ऐतिहासिक अपिल सार्वजनिक गर्दै संयमता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी गरिएको विज्ञप्तिमा सेनाले जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ ।

अपिलमा भनिएको छ, “देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो । विद्यमान परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।”

सेनाले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेको छ । साथै, परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ ।

सैनिक उच्च स्रोतका अनुसार हालको परिस्थितिले सेना विशेष सतर्क अवस्थामा रहनुपर्ने बाध्यता आएको छ । यदि आन्दोलन अझ आक्रामक बनेर राष्ट्रिय संरचना र सुरक्षामाथि प्रत्यक्ष आघात गर्ने स्थितिमा पुगे भने संविधानले दिएको अधिकार प्रयोग गरेर ‘विशेष कदम’ चाल्नुपर्ने अवस्था आउन सक्ने संकेत गरिएको छ ।

तर तत्कालका लागि सेनाको रणनीति संवाद, संयम र शान्तिपूर्ण समाधानमै केन्द्रित रहेको स्रोतले जनाएको छ । विश्लेषकहरूले भने सेनाको अपिलपछि आन्दोलनकारीको प्रतिक्रिया र राजनीतिक नेतृत्वको निर्णय नै अबको मुलुकको दिशा निर्धारण गर्ने ठहर गरेका छन् ।