काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जेन्जी पुस्ताका प्रदर्शनकारीहरूको ज्यान जाने गरी सोमवार भएको घटनाको गहिरो निन्दा व्यक्त गरेका छन्। शाहको संवाद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा हिंसात्मक प्रदर्शनको विरोध गर्दै, युवापुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जेन्जीले देश र समाजका निम्ति केही राम्रा काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोरकिशोरी र युवायुवतीले यही भदौ २३ गते काठमाडौँ लगायत देशका धेरैजसो प्रमुख सहरहरूमा विरोध प्रदर्शनमार्फत् पोखेको आक्रोश निश्चय पनि आमचासोको विषय हो। तर, युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद एवं निन्दनीय कार्य हो।”
पूर्वराजा शाहको सचिवालयले उक्त हिंसा नेपाली समाजको मान्यताविपरीत रहेको स्पष्ट पारेको छ। घटनामा ज्यान गुमाएका युवाहरूप्रति पूर्वराजा शाह र उनको परिवारले श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै, मृतकका अभिभावकप्रति समवेदना व्यक्त गरिएको छ।
सचिवालयले देशभित्रबाटै समस्याको समाधान खोज्न अपील गर्दै भनिएको छ, “पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखिएको छ।”
विश्लेषकहरूले पूर्वराजा शाहको यो वक्तव्यलाई राजनीतिक अस्थिरताको बेला युवाप्रति चेतना जगाउने र आन्दोलनलाई शान्तिपूर्ण मार्गतर्फ मोड्ने संकेतका रूपमा लिएका छन्। पूर्वराजा शाहले सक्रिय राजनीतिक भूमिकामा नहुनुका बाबजुद पनि यो वक्तव्यले समाजमा नैतिक र ऐतिहासिक दृष्टिकोणबाट सन्देश पुर्याएको छ।
देशभर फैलिएको जेन्जी आन्दोलनले राजधानीसहित देशका प्रमुख सहरमा राजनीतिक संकट उत्पन्न गरेको अवस्थामा पूर्वराजा शाहको यो अपीलले कम्तिमा पनि युवा नेतृत्व र आम नागरिकमा शान्तिपूर्ण आन्दोलनको महत्वलाई पुनः स्मरण गराएको विश्लेषकहरूले बताएका छन्।











प्रतिक्रिया