घाइतेको संख्या बढेसँगै राजधानीका प्रमुख अस्पतालहरूमा रगतको अभाव

658
Shares

काठमाडौं

जेनजी आन्दोलनका क्रममा घाइतेको संख्या बढेसँगै राजधानीका प्रमुख अस्पतालहरूमा रगतको अभाव देखिएको छ। सिभिल अस्पताल, वीर अस्पताल र ट्रमा सेन्टरका चिकित्सकहरूले तत्काल विभिन्न रक्त समूहको आवश्यकता परेको बताएका छन्।

अस्पतालहरूमा उपचाररत घाइतेहरूको शल्यक्रिया तथा आपत्कालीन उपचारका लागि पर्याप्त रगत उपलब्ध नहुँदा समस्या बढेको भन्दै चिकित्सकहरूले इच्छुक व्यक्तिहरूलाई रक्तदान गर्न अपिल गरेका छन् । घाइतेहरूको जीवनरक्षाका लागि नागरिक स्तरमै सहयोग आवश्यक रहेको भन्दै तत्काल रक्तदान अभियानमा सहभागी हुन मोबाइल नं. ९८५७०५९६३१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसैबीच रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले आवश्यक रगतका लागि सहजीकरण गरिरहेको जानकारी दिँदै शाखाका सभापति श्याम डोटेलले रगत आवश्यक परेको खण्डमा उहाँको नम्बर ९८५१०३३९६७ मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर जारी गरेको छ। साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।

प्रहरीेले असुर ग्यास चलाउँदा सिभिल अस्पतालमा उपचारमै समस्या

जेनजीको प्रदर्शन दबाउने क्रममा सोमबार दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको इमर्जेन्सी (आपतकालीन कक्ष)मै पुग्ने गरी प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि उपचारमा समेत समस्या उत्पन्न भएको थियो । त्यति मात्रै होइन, प्रहरी बल प्रयोग गर्दै अस्पतालभित्रै प्रवेश गरेपछि त्यहाँ उपचाररत बिरामीका साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी आतंकित बनेको उपचारमा संलग्न चिकित्सकहरूले बताए ।

उपचारमा संलग्न चिकित्सक डा. सुवास बन्जाडेका अनुसार प्रहरी बन्दुक तेस्र्याउँदै इमर्जेन्सीमा प्रवेश गरेपछि स्वास्थ्यकर्मीहरूले आफूलाई असुरक्षित महसुस गर्दै उपचार नै छाड्नु पर्ने अवस्था आएको थियो ।

हुन त घाइते प्रदर्शनकारीहरूको उपचार नयाँ सडकस्थित ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल, एभरेस्ट अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालमा उपचार भैरहेकोे छ । तर पनि घाइतेको चाप सिभिल अस्पतालमा बढी छ । सिभिल अस्पतालमा मात्रै करिब सयजना भन्दा बढीको उपचार भैरहेको छ । इमरजेन्सीमा एकैपटक धेरै घाइते ल्याइएपछि पर्याप्त स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ भइरहेको सिभिल अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले तत्काल अतिरिक्त चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको आवश्यकता परेको भन्दै नजिकै उपलब्ध हुने स्वास्थ्यकर्मीहरूलाई आपत्कालीन कक्षमा उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ ।

चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

जेनजीद्वारा आह्वान गरिएको विरोध प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाप्रति नेपाल चिकित्सक संघले सोमबार आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले लोकतान्त्रिक मुलुकका युवाहरू आन्दोलनमा उत्रिनु बाध्य हुनुपर्नु अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र विरोध प्रदर्शन गर्ने अधिकार सुनिश्चित हुँदाहुँदै पनि आन्दोलन अनियन्त्रित र हिंसात्मक हुनु दुःखद् भएको टिप्पणी गरेको छ । साथै राज्यद्वारा आन्दोलनकारीहरू विरुद्ध अनावश्यक बल प्रयोग हुनु पनि अत्यन्तै निन्दनीय र पीडादायी भएको विज्ञप्तीमा उल्लेख छ ।