काठमाडौं।
जेनजी आन्दोलनको पहिलो दिनमै प्रदर्शन उग्र बनेपछि राजधानी काठमाडौंमा सुरक्षा अवस्था उच्च सतर्कतामा पुगेको छ । स्थिति नियन्त्रणबाहिर जाँदै गएपछि सरकार, सुरक्षा निकाय र प्रशासन चौतर्फी रूपमा सक्रिय भएका छन् । मन्त्री निवास, पार्टी कार्यालय, संवेदनशील सरकारी भवन र भीआईपी क्षेत्रहरूमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरूमा कफ्र्यु आदेश जारी गरिएको छ ।
काठमाडौंका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा कफ्र्यु जारी गरिएको छ । विशेषगरी राष्ट्रपति कार्यालय शीतलनिवास,उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार, संसद् भवन क्षेत्र, मल्ल होटल आसपास, लैनचौर र अनामनगर क्षेत्र कफ्र्यु क्षेत्रभित्र पर्छन् ।
शीतलनिवास क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकदेखि सामाखुसी मोड हुँदै खोलासम्म, लैनचौरमा केशरमहलदेखि मल्ल होटलसम्म र नारायणहिटी क्षेत्रको दक्षिण गेटदेखि जय नेपाल हलसम्म पूर्ण रूपमा कफ्र्यु लागू गरिएको छ ।
त्यस्तै, सिंहदरबार क्षेत्र, सर्वोच्च अदालत, पद्मोदय मावि, अनामनगर, पुरातत्व विभाग लगायत स्थानमा समेत आवतजावत, सभा, जुलुस, घेराउ निषेध गरिएको प्रशासनले जनाएको छ ।
चारवटा सुरक्षा निकाय सक्रिय
सोमबार भएको उग्र प्रदर्शनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको सक्रियता झनै बढाइएको छ । प्रमुख सरकारी भवन, नेताहरूको निवास र कार्यालय क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । खासगरी मन्त्री निवास भैंसेपाटी, शीतल निवास, सिंहदरबार, संसद् भवन र पार्टी कार्यालयहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, आन्दोलनरत समूहले भीआईपी स्थानहरू लक्षित गर्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो । सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको छैन उहाँले भन्नुभयो ।
शुरुमा प्रदर्शनलाई सामान्य ठानेर जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शनको अनुमति दिएको थियो । यही कारण सुरक्षाकर्मीको संख्या पनि न्यून राखिएको थियो । तर, स्थिति एक्कासी हिंसात्मक बन्दै गएपछि प्रहरीले अश्रुग्यास, रबरको गोली र हवाइ फायरसमेत गर्न बाध्य भएको थियो । भीड नियन्त्रणमा लिन नसकेपछि प्रशासनले कफ्र्यु आदेश जारी ग¥यो ।
पार्टी कार्यालय र नेताको घरमा सुरक्षा
आन्दोलनकारीले दलका केन्द्रीय कार्यालयमा समेत आक्रमण गर्न थालेपछि सुरक्षा व्यवस्था झनै कडा बनाइएको छ । ललितपुरस्थित सानेपा (नेपाली कांग्रेस), च्यासल (एमाले), पेरिसडाँडा (माओवादी केन्द्र) लगायतका पार्टी कार्यालयमा सुरक्षा दिइएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, पार्टी कार्यालय, नेताहरूको निजी निवास, र सरकारी भवनहरूमा आवश्यक सुरक्षा रणनीति अपनाइएको छ । उहाँले भन्नुभयो,–ललितपुर अहिलेसम्म शान्त छ, तर केही भएमा पूर्ण सुरक्षा दिन सक्षम छौं ।
मन्त्री निवासमा व्यापक सुरक्षाः
भैंसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षा दिइरहेका छन् । महानगरीय प्रहरी वृत्त बुंगमतीका प्रमुख प्रहरी निरीक्षक शशिधर शर्माको नेतृत्वमा सुरक्षा टोलि खटिएको छ ।
आन्दोलन उग्र बन्दै जाँदा राजधानीका गल्लीगल्लीमा भागदौड मच्चिएको थियो । स्थानीय बासिन्दा त्रसित बनेका छन् । व्यवसायीहरूले असुरक्षा महसुस गर्दै पसल बन्द गरेका छन् । विद्यार्थीहरू सडकमा अलपत्र परेका थिए ।











प्रतिक्रिया