नेपालमा जेन–जी आन्दोलनको प्रारम्भमै एक शुद्ध आकांक्षा र आशाको स्वरूपमा उदाएको थियो । समान अवसर, स्वतन्त्र आवाज र सुन्दर भविष्यप्रतिको दृढ सपनासहित युवा पुस्ता सडकमा उत्रिएका थिए । उनीहरूको हातमा कुनै हतियार थिएन, न त मस्तिष्कमा सत्ता समीकरणको चाहना । मोबाइलको स्क्रिनमा लेखिने शब्द विस्तारै सडकमा झरेर नारा बन्दै थियो । देशले पहिलोपटक युवापुस्ताको सामूहिक चेतनाको धड्कन महसुस गर्दै थियोे । तर, निर्दोष स्वर र उज्यालो आकांक्षासँगै नेपथ्यबाट छायाँझैँ बनेर पस्यो स्वार्थीहरूको दाउपेच । राजनीतिक स्वार्थी बोकेका आततायीहरू र आपराधिक गिरोहका लोभी हातहरूले शान्तिपूर्ण भेलालाई अराजकताको रंगमा रंगाइदिए । एकताको स्वर हिंसाको विषले दूषित बनाइदिए । स्वच्छ आन्दोलनको अभीष्टलाई स्वार्थको भूमरीमा तानेर, निर्दोष युवाको बलिदानलाई खेलौना बनाइयो ।
यस्तो परिस्थितिमा, प्रहरीलाई अत्याधिक बल प्रयोग अपरिहार्य ठहराइएजस्तो देखियो । तर, त्यसको परिणाम असाध्यै कारुणिक रह्यो । आन्दोलनको मूल शक्ति समानता, स्वतन्त्रता र न्याय अराजकताको कोलाहलमा हरायो । तर, इतिहास साक्षी छ, हिंसाले असल सपना मार्न सक्दैन । घुसपैठ र आततायी अस्थायी अवरोध ल्याउन सक्छ, तथापि, पुस्ताको आकांक्षा स्थायी रूपमा दबाउन सक्दैन ।
जेन–जी आन्दोलन नेपालकै राजनीतिक इतिहासमा एक गम्भीर र दुःखद अध्याय बनेको छ । सुरुमा समानता र स्वतन्त्रताको न्यायोचित मागमा आधारित यो आन्दोलन अन्ततः मानवीय त्रासदीमा परिणत भयो । यसले देशको सामाजिक राजनीतिक संरचनामा गहिरो घाउ बनायो । यो कथा केवल आन्दोलनको मात्र होइन, तिनै कलिला मुनाहरूको हो जसका सपनाहरू राजनीतिक स्वार्थ र सामूहिक आततायीताले निमोठिए दिए ।
डिजिटल माध्यमबाट विश्व नियालेका ती युवाका लागि मोबाइल केवल यन्त्र थिएन । यो सशक्तिकरणको साधन थियो । यही बाटो भएर जन्मेका शब्दहरू सडकमा झरे, सामूहिक नारामा परिणत भए र, आशाको बगैंचामा हरियाली भर्ने वाचा गरे । तर, यही आशा र ऊर्जा घुसपैठका लागि उपयुक्त अवसर बनाइयो । राजनीतिक दल र आपराधिक गिरोहले यसलाई आफ्ना स्वार्थ र प्रभुत्वका लागि प्रयोग गरे ।
राज्यको दमनकारी प्रतिक्रिया त्यस अराजकतालाई झनै भयावह बनायो । प्रहरीको डण्डा र बन्दुक आततायीहरूविरुद्ध होइन, निर्दोष छातीहरूमा बज्रियो । अश्रु ग्यासको विषाक्त धुवाँले युवाका सपनाहरू पखालिदियो। रबरका गोलीहरूले भविष्य छेडे । अन्ततः तातो गोलीले जीवन नै खोस्यो ।
यो केवल हिंसाको कथा होइन, मानवताको पतन हो । निर्दोषको रगतमा पौडी खेल्ने घुसपैठिया र आततायीहरूको लोभ र षडयन्त्रले देशकै भविष्यलाई निमोठे । तर, इतिहासले बारम्बार देखाएको छ, उत्पीडनले आशालाई कहिल्यै मेटाउन सक्दैन । यी कलिला मुनाहरू फेरि पलाउनेछन् कोमल तर दृढ पालुवाजस्तै, नयाँ र न्यायपूर्ण समाज निर्माण गर्ने अटल संकल्पसहित ।
जेन–जी आन्दोलनले सामूहिक विवेकमा एउटा कठोर शिक्षा छाडेको छ, राजनीतिक स्वार्थ र हिंसाले समाजको भविष्यलाई नष्ट गर्न सक्छ । अब हाम्रो कर्तव्य यी कलिला मुनाहरूको बलिदानलाई बिर्सनु होइन, न्याय दिलाउनु र त्यस्तो वातावरण निर्माण गर्नु, जसमा फेरि कुनै पुस्ताको सपना आगोमा होमिनु नपरोस् ।
२०८२ भदौ २३ गते नयाँ बानेश्वरको सडकमा लुटिएका सपनाहरूलाई समर्पित काव्यांश
सपना देखिरहेका थिए उनीहरू
समान अवसर र स्वतन्त्र आवाज ।
मोबाइलमा अल्झिएका शब्द
सडकमा झरेर नारा बन्दै थियो ।
त्यो स्वर, त्यो ऊर्जा, त्यो निर्दोषिता
जेन–जी पुस्ताको आशाको बगैँचामा झल्किन्थ्यो ।
तर,
निर्दोष आँखासँगै पस्यो
राजनीतिक स्वार्थीहरूको दाउपेच,
अपराधी गिरोहका लोभी हातहरू
शान्तिपूर्ण भेला अराजक रंगले रंगाइयो ।
उनीहरूको अभीष्टले
अवोधहरुको बलिदानमा बदलिदियो ।
समानता र स्वतन्त्रताको आवाज,
अराजकताको कोलाहलमा हरायो ।
प्रहरीको डण्डा र बन्दुक
मुनाहरू छातीमा बज्रियो ।
अश्रु ग्यासले पखालिए सपना,
रबरका गोलीले छेड्यो भविष्य,
तातो गोलीले खोस्यो श्वास ।
कलिला छातीहरू रक्ताम्य भई सडकमै ढले
कसैको छोरो, कसैकी छोरी, देशकै उदाउँदो बिहानी ।
निर्दोषको रगतमा पौडी खेल्ने
हे घुसपैठिया र आततायीहरू
तिम्रो लोभ, तिम्रो षडयन्त्रले
निमोठ्यौ कलिला मुनाहरू
उही पुस्ता फेरि उभिनेछ,
अहिंसाको स्वर, सत्यको ढुकढुकी लिएर ।
फेरि पलाउने छन् पालुवा बनेर ।











प्रतिक्रिया