गोली लागेका ९  जनाको उपचारका क्रममा मृत्यु


काठमाडौँ। 

भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली प्रहार गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् र केहीको घटनास्थलमा नै मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौंका विभिन्न अस्पतालहरूमा घाइतेहरूको भिडभाड छ र अस्पताल उपचारमा सीमित भएको छ ।

काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा प्रहरीको गोली लागेका एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. दीपक पौडेलले एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्  । त्यसैगरि राष्ट्रिय ट्रमा सेन्टरमा पनि ६ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेसु डा. बद्री रिजालले जानकारी दिएका छन्  । ट्रमा सेन्टरमा करिब ३० जनाभन्दा बढी गम्भीर घाइतेहरूको उपचार भइरहेको छ । गोली प्रहारबाट अधिकांश घाइतेको छाती, पाखुरा र टाउकोमा चोट लागेको छ ।

सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताललगायत राजधानीका विभिन्न अस्पतालहरूले घाइतेहरूको उपचार गरिरहेका छन् । सिभिल अस्पतालका चिकित्सकहरूले भीडभाडको कारणले थप उपचार सम्भव नभएको र अन्य अस्पतालहरूमा रिफर गर्नुपर्ने अवस्था आएको बताएका छन् । सिभिल अस्पतालका एक चिकित्सक डा. सुवास बन्जाडेले डेढ सयभन्दा बढी घाइतेहरूको उपचार भइरहेको बताए । 

प्रदर्शन स्थल नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदर्शनकारीहरूले प्रहरीले सुरक्षा घेरा तोड्दै संसद भवन प्रवेश प्रयास गरेपछि हिंसात्मक अवस्था सिर्जना भएको थियो । सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार अहिले ८० भन्दा बढी घाइतेहरूको उपचार जारी छ र अस्पतालमा अत्यधिक भीडभाडका कारण परिसर अस्तव्यस्त बनेको छ । केही घाइतेहरुलाई नजिकैको एभरेष्ट अस्पतालमा पनि पठाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रमेशकुमार महर्जनले पनि घाइतेहरू अस्पतालमा भर्ना हुन थालेको खबर आएपछि तयारी अवस्थामा रहेको बताए । साथै थप घाइतेलाई उपयुक्त उपचारका लागि विभिन्न अस्पतालहरूमा लैजाने तयारी भइरहेको छ ।

आन्दोलनमा घुसपैठ भै भिड भड्किँदा प्रहरीले अवस्था नियन्त्रणमा लिन चलाएको अस्रुग्यास, रबरका गोली लागि ठूलो संख्यामा मानिस घाइते भएका छन् र केहीको मृत्यु भएको घटनाले काठमाडौंका स्वास्थ्य संस्थाहरूमा ठूलो दबाव सिर्जना गरेको छ । विभिन्न अस्पतालहरूले अत्यावश्यक रूपमा थप संसाधन र सहयोग आवश्यक रहेको जनाएका छन् । सिभिल अस्पतालले त अन्य अस्पतालमा बिरामी पठाउँन एम्बुलेन्स सम्म नभएकोले एम्बुलेन्स पठाईदिन अन्य अस्पताललाई अनुरोध गरेको छ ।