जेनजी आन्दोलन नियन्त्रण गर्न सेना परिचालन, संसद भवन सेनाको नियन्त्रणमा


काठमाडौं ।

जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार राजधानीमा उग्र बनेपछि सरकारले कर्फ्यू आदेश जारी गर्दै नेपाली सेना समेत परिचालन गरेको छ। नयाँबानेश्वरस्थित संसद भवन कब्जा गर्ने उद्देश्यले भिड अगाडि बढेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, लाठीचार्ज र अन्ततः रबरका गोली प्रहार गर्नुपरेको थियो। तर आन्दोलन उग्र बन्दै गएपछि सरकारले सेना उतार्न बाध्य भएको हो।

हाल संसद भवन वरिपरिको सम्पूर्ण क्षेत्र नेपाली सेनाको कडाइपूर्ण निगरानीमा छ। संसद प्रवेशद्वार तोडफोड गर्न खोज्ने र संसद अगाडि आगजनी गर्ने घटनापछि सुरक्षा चुनौती चर्किएको थियो। त्यसपछि संसद भवन र वरिपरिको संवेदनशील क्षेत्र सेनाले नियन्त्रणमा लिएको छ।

जेनजी आन्दोलनको नेतृत्व गर्ने समूहले दिउँसो आन्दोलन स्थगित भएको घोषणा गरे पनि सडकमा देखिएको भिड अझै अराजक ढंगले प्रस्तुत भइरहेको छ। नेतृत्वले “आन्दोलनमा घुसपैठ भएको” भन्दै घर फर्किन आह्वान गरे पनि केही समूहले संसद भवनतर्फ आक्रमण गर्ने प्रयास जारी राखेका छन्। सुरक्षाकर्मीहरूले तितर-बितर पार्न प्रयास गरे पनि ठूला भिड नियन्त्रणमा लिन कठिन भइरहेको देखिन्छ।

यसै बीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिउँसोदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यूपछि पनि भिड तितर-बितर नभएपछि सेना उतार्ने निर्णय गरिएको हो। प्रशासनले जनतालाई घरमै बस्न आग्रह गर्दै कर्फ्यू उल्लंघन नगर्न चेतावनीसमेत दिएको छ।

संसद भवन वरिपरि अहिले बाक्लो रूपमा सेनासहित प्रहरी परिचालन छ। हवाई फायरपछि केही भिड तितर-बितर भए पनि अलग-अलग स्थानमा जमघट भइरहेका छन्। प्रहरीले हालसम्म धेरैलाई नियन्त्रणमा लिएको बताइएको छ।