माइतीघर मण्डलामा जेनजीको प्रदर्शन सुरु,  सुरक्षा व्यवस्था कडा 


काठमाडौँ। 

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले काठमाडौँको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् । भ्रष्टाचार विरोधी तथा सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाको माग सहितका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन् । 

धेरै युवाहरु कलेज तथा स्कुल पोसाकमा उपस्थित भएका छन् ।  

आज हुने जेनजी पुस्ताको आन्दोलनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै  स्थानीय प्रशासनले बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाएको छ। 

निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी माइतीघरदेखि बानेश्वरसम्मको बीच सडकमा प्रदर्शन अनुमति दिएको प्रशासनले माइतीघर आसपास र नयाँ बानेश्वरस्थित संसद् भवन वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

जेनजीको प्रदर्शनलाई विभिन्न संघसंस्था, नेता तथा सेलिब्रेटीहरुले ऐक्यबद्धता जनाएका छन् । 

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा उत्रिन लागेको हो । भ्रष्टाचार अन्त्यसहितका विषयलाई उनीहरुले प्रदर्शनको मुख्य नारा बनाएका छन् ।

प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन साह, व्यवसायी दुर्गा प्रसाईं लगायत चर्चित कलाकारहरुले पनि  समर्थन जनाएका छन् ।