भोटेजीरा : डोल्फुवासीको जीवन आधार

0
Shares

मुगु । मुगुको उत्तरी भेग मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फु गाउँका बासिन्दा अहिले खेतीबालीभन्दा बढी जंगलमै भर पर्न बाध्य छन् । यहाँको हिमाली भेगमा धान, गहुँ वा मकैजस्ता मुख्य अन्नबाली उब्जिँदैनन् । आलुबाहेक अन्य उत्पादन नगन्य मात्रामा हुने भएकाले स्थानीय जीवनयापनका लागि जंगलमा पाइने भोटेजीरा (जिम्बु) जस्ता जडीबुटी नै मुख्य आधार बनेका छन्।

डोल्फुका किसान तोर्जिङ लामाको भनाइमा, ‘खेतबारीले खान दिन्न, जिम्बुले भने छोराछोरी पढाउनेदेखि घरखर्च धान्ने काम गरिदिन्छ ।’ उनका अनुसार एक किलो जिम्बु १० देखि १२ हजार रुपियाँमा व्यापारीलाई बेच्न सकिन्छ । यही पैसाले उनीहरू दैनिकी चलाउँछन् ।
तोर्जिङ लामाजस्ता स्थानीयले हरेक वर्ष जिम्बु संकलन गरेर काठमाडौँ पढिरहेका छोराहरूको खर्च जुटाइरहेका छन् । उनी भन्छन्, ‘जेठो ११ कक्षामा, कान्छो ७ कक्षामा छ । पढाइ खर्च जिम्बु बिक्रीकै भरमा पुगेको छ ।’

मुगुमकार्मारोङ अझै सडक सञ्जालसँग नजोडिएकाले यहाँको जिम्बु सदरमुकाम गमगढीसम्म पिठ्यूँमै बोकेर ल्याइन्छ । व्यापारी कुन्जुकपेपा लामाका अनुसार जिम्बु प्रतिमाना एक सय रुपियाँका दरले चामल, सिमी वा नगदसँग साटिन्छ । स्थानीय उत्पादनलाई कर्णालीका अन्य जिल्लादेखि बाहिरी प्रदेशसम्म निर्यात गरिँदै आएको भए पनि यो अझै करको दायरामा परेको छैन ।

मुगुमकार्मारोङ–१ का वडा अध्यक्ष कार्मा तुन्डुप लामाले जिम्बु संकलन अहिले पनि मौसमी र व्यक्तिगत प्रयासमै सीमित भएको बताए । उनी भन्छन्, ‘अहिले ठूलो स्तरमा व्यावसायिक अभ्यास शुरु भएको छैन, त्यसैले करको दायरामा ल्याउन पनि समय लाग्छ ।’ उनका अनुसार व्यवस्थित उत्पादन र बजार व्यवस्थापन भएमा जिम्बुले गाउँको आर्थिक स्वरूप नै बदल्ने सम्भावना छ ।

हिमालको पाटन क्षेत्रमा स्वाभाविकरूपमा उम्रिने जिम्बु कुनै रासायनिक मल–औषधिविना उत्पादन हुने भएकाले यो पूर्णतया ‘अर्गानिक’ मानिन्छ । स्वाद र सुगन्धकै कारण देशका अन्य भागमा समेत भोटेजीराको माग बढ्दो छ । स्थानीयको भनाइमा यार्सागुम्बा, चौँरी तथा अन्य जडीबुटीसँगै भोटेजीरा नै उपल्लो मुगुवासीको मुख्य जीविकाको स्रोत बनेको छ ।