दुई सय वर्षपछि ललितपुरमा ‘हाथ्वँ भैलः’ जात्रा

3.48k
Shares

दुई सय वर्षपछि ललितपुरवासीले लोंलमा आकाश भैरव (हाथ्वँ भैलः) जात्रा मनाएका छन् । मूर्तिकार रवि शाक्यले तयार गरेको ८ फिट अग्लो प्रतिमा स्थापना भएसँगै पहिलोपटक आकाश भैरव जात्रा मनाइएको हो । त्यसअघि सो स्थानमा काठको भैरव थियो । हाल उक्त भैरवको प्रतिमा कहाँ छ भन्नेबारे कुनै जानकारी छैन । स्थानीयले लोंलमा ढुंगाको प्रतिमा रहेको स्थानमा आकाश भैरवको प्रतिमा स्थापना गरेका हुन् । स्थानीय युवा, लोंल टोल सुधार समितिलगायतको आर्थिक सहयोमा आकाश भैरवको मूर्ति निर्माण भएको हो ।

स्थानीय युवाको सक्रियतामा २ सय वर्षपछि आकाश भैरवको प्रतिमा स्थापना भएको मूर्तिकार शाक्यले बताउनुभयो । उहाँका अनुसार इन्द्रजात्राको दिन पारेर प्रतिमा तयार गरिएको हो । करिब २२ लाख रुपियाँको लागतमा २७ दिनमा प्रतिमा तयार भएको शाक्यले जानकारी दिनुभयो । ललितपुरमा परम्परागत रूपमा हराएको यो पहिलो जात्रा हो । ललितपुर जिल्लामा आकाश भैरवको प्रतिमा कहीँकतै छैन ।

प्रतिमा स्थापना गर्नुअघि शनिवार दिउँसो ओकुबहालमा जात्रा गरेर मूर्तिकार शाक्यलाई सम्मान गरिएको थियो । स्थानीयको अपार सहयोगको कारण आफूलाई उक्त मूर्ति बनाउने आँट आएको जिकिर गर्दै मूर्तिकार शाक्यले आकाश भैरवको मूर्ति स्थापना गर्दा खुसी लागेको बताउनुभयो । प्रतिमा स्थापना भएलगत्तै अब हरेक वर्ष इन्द्रजात्रामा हाथ्वँ भैरव जात्रा मनाइने भएको छ । हाथ्वँ भन्नाले भैरवको मुखको पाइपबाट जाँड राख्ने र स्थानीयले उक्त जाँड प्रसादको रूपमा खाने प्रचलन छ ।

स्थानीय युवा रिके महर्जनले २ सय वर्षदेखि रोकिएको जात्रा यो वर्षबाट शुरू भएको जानकारी गराउनुभयो । उहाँले करिब ३ हजार वर्ष पुरानो ललितपुरको यो स्थानमा २ सय वर्षदेखि रोकिएको जात्रा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । हिजो आइतबार सम्पन्न जात्रामा लाखे नाच भएको थियो । महर्जनले भन्नुभयो– ‘हराउ“दै गएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्दै, यसै वर्षदेखि लाेंलटोलमा आकाश भैरव (हाथ्वँ भैलः आजु) को प्रतिमा पुनःस्थापना गरी जात्रा मनाएका छांै ।’

काठमाडौं उपत्यकाको करिब तीन हजार वर्ष पुरानो इतिहास बोकेको आकाश भैरव पूजा नेवा समाजको मौलिक परम्परा हो । जात्रा सम्पन्न गर्न करिब २५ लाख रुपियाँ लाग्ने अनुमान छ । आगामी वर्ष अक्षयकोष बनाउने र सोही कोषमार्फत जात्रा मनाउने तयारी गरेको महर्जनको भनाइ छ ।

किरातकालीन लोंल यस्तो वस्ती हो, जहाँ महाबौद्ध मन्दिर बनाउदा सबै साँचो राखेको थियो । किराँत टोलमा हाथ्वँ खा देव मनिन्थ्यो अहिले प्रतिमा राखिएको छ । सो टोलको भुइँमै भैरवको शिला छ । राज्यबाट रकम नलिएर आफ्नै खर्चमा स्थानीयले यति ठूलो प्रतिमा स्थापना गर्नु महत्वपूर्ण विषय हो ।
प्रतिमा निर्माण गर्न टोलबासीले स्वैच्छिक रूपमा आर्थिक योगदान गरेका थिए । अन्य शुभेच्छुक तथा धार्मिक आस्थावान व्यक्तिले समेत आफ्नो गच्छे र इच्छाअनुरूप आर्थिक सहयोग गरेका थिए ।

छोटो अवधिमै आवश्यक कोष स्थानीय तहबाट नै संकलन गरी लोंल टोल सुधार समिति र लोंल युवाहरूको संयुक्त प्रयासमा आयोजना हुने यस कार्यले उक्त टोलको मौलिक पहिचान पुनः स्थापित गर्दै संस्कृति जगेर्ना गर्न उल्लेखनीय योगदान पुग्ने स्थानीयको भनाइ छ ।