विश्वभर फैलिँदै जेन जी आन्दोलन


विश्वका विभिन्न देशमा यतिबेला २७ वर्षभन्दा कम उमेर समूहका युवापुस्ता अर्थात् जेनेरेसन जेड (जेन जी)ले सामाजिक सञ्जालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमानता, अलोकतान्त्रिक शासन र महँगीविरुद्ध आवाज उठाउँदै छन् । सन् २०१८ मा स्विडेनमा जलवायु परिवर्तनको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरूआत गरेको थियो । त्यसपछि सन् २०२० मा अमेरिकामा काला जातिमाथि भएको दमनविरुद्ध विश्वभर विरोध प्रदर्शन भयो । युवाहरूले आफ्नो आवाजलाई विस्तारै बुलन्द गर्दै लगेका बेला सन् २०२४ जुनबाट केन्यामा भएको आन्दोलनले हिंसात्मक रूप लियो, जसमा ६५ जनाभन्दा बढीले ज्यान गुमाए । तत्पश्चात् युवा पुस्ताको आन्दोलन अहिले विश्वभर फैलिएको छ ।

मंगोलिया र केन्यामा भएको आन्दोलनले तत्काल सफलता पाएका छन् भने सर्बिया, मालीमा उच्च दबाब सिर्जना गरेका छन् । यी आन्दोलनहरूको एक साझा विशेषता भनेको विकेन्द्रीकृत नेतृत्व, रचनात्मक रणनीति र सरकारी दमनका बाबजुद पनि निरन्तरको प्रदर्शन हो । जेन–जी आन्दोलनहरूको शक्ति डिजिटल प्लेटफर्म हो । यसमा स्वस्फूर्त सहभागिता र नैतिक उद्देश्यमा आधारित हुन्छ । तर, जनसमर्थन कमजोर पार्न, आन्दोलनको वैधता प्रश्नमा ल्याउन र सरकारलाई कडा दमन गर्न सहज वातावरण निर्माण गर्न घुसपैठ हुने खतरा अत्यधिक हुन्छ । यस्ता घुसपैठले यी आन्दोलनलाई हिंसात्मक, चरमपन्थी वा अव्यवस्थित देखाउने खतरा बढाउने भएकोले त्यसतर्फ सचेत हुन जरुरी हुन्छ । धेरै आन्दोलनमा देखिएको क्षति यही कारण हो ।

केही चर्चित जेनजी आन्दोलनहरू

केन्या (जुन २०२४ र जुन २०२५) : त्यहाँको सरकारले कर वृद्धि गर्नका निम्ति ल्याएको आर्थिक ऐनविरुद्ध १८ जुन २०२४ मा जेनजी आन्दोलन शुरू भएको थियो । कर वृद्धिलाई फिर्ता र भ्रष्टाचारविरुद्ध जवाफदेहिता माग्दै भएको सामाजिक सञ्जालमार्फत डिजिटल अभियान चलाइएको थियो र जसमा ‘अक्कुपाई पार्लियामेन्ट’को आह्वान गरिएको थियो । २५ जुनमा प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गरे र आगजनी गरे, जसको प्रतिक्रियास्वरूप प्रहरी कारबाहीमा ६५ जनाभन्दा बढीको ज्यान गयो । जन दबाबका कारण २८ जुनमा सरकारले विवादित कानुन रद्द गर्न बाध्य भयो । फेरि जनवरी २०२५ देखि ब्लगर अल्बर्ट ओज्वाङको पुलिस हिरासतमा मृत्युपछि आन्दोलन फेरि शुरू भयो । ९ जुन २०२५ देखि शुरू भएको दोस्रो चरणको आन्दोलन पनि हिंसात्मक भयो कयौंले ज्यान गुमाए भने ५ सयभन्दा बढी गिरफ्तार भएका छन्, जसले सरकारमाथि ठूलो दबाब सिर्जना गरेको छ ।

मंगोलिया (मार्च–जुन २०२५) : गत मार्चमा शुरू भएको आन्दोलन प्रधानमन्त्री लुभसान्नामस्रेन ओयुन–एर्दनेको परिवारमा भएको भ्रष्टाचार र अत्यधिक खर्चविरुद्ध केन्द्रित थियो । विद्यार्थी र युवाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत अभियान चलाइयो र संसद्माथि दबाब बढाइयो । करिब हजारौं मानिसले हस्ताक्षर गरेको गर्दै दबाब दिएपछि, ३ जुन २०२५ मा संसद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत पारित ग¥यो, जसका कारण उनले राजीनामा दिए र सरकारमा परिवर्तन भयो ।

सर्बिया (नोभेम्बर २०२४– सेप्टेम्बर २०२५) : २२ नोभेम्बर २०२४ मा भएको एक रेल दुर्घटनापछि राज्यस्तरीय भ्रष्टाचार र जवाफदेहिताको अभावविरुद्ध युवा आन्दोलन शुरू भयो । प्रदर्शनकारीहरूले सामूहिक रूपमा १६ मिनेटको मौन धर्ना, सडक र संस्था अवरोध, साइकल रिलेजस्ता शान्त र रचनात्मक रणनीति अवलम्बन गरे । आन्दोलन एक वर्षसम्म जारी रह्यो ।

इन्डोनेसिया (अगस्त २०२५) ः इन्डोनेसियामा २५ अगस्त २०२५ मा सांसदहरूले पाउने विलासितापूर्ण भत्ता, सुविधाविरुद्ध तथा आर्थिक असमानताविरुद्ध न्यायको माग लिएर आन्दोलन शुरू भयो । यो नेतृत्वविहीन आन्दोलन थियो र युवाहरूको व्यापक समर्थन थियो । प्रदर्शनहरू हिंसात्मक बन्दै देशका ३२ प्रान्तमा फैलियो । जसको नतिजाको रूपमा सरकारले सांसद सुविधा रद्द गर्न बाध्य भयो ।

माली (सन् २०२५ को मध्य) : २०२५ को मध्यतिर सैन्य शासनविरुद्ध लोकतन्त्र पुनःस्थापनाको माग लिएर युवाहरूले डिजिटल अभियान र सडक प्रदर्शनहरू शुरू गरे । तर, सैन्य सरकारले कडा नियन्त्रण कायम राखेकाले आन्दोलनलाई दमन ग¥यो । यद्यपि, यस आन्दोलनले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सफल भएको छ ।

फ्रान्स (सन् २०२५ को मध्य) : फ्रान्समा आर्थिक असमानता र बढ्दो जीवनयापन खर्चविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले ह्यासट्याग इभ्रिथिङ डिजिटल अभियान शुरू भएको छ, जसको लक्ष्य १० सेप्टेम्बर २०२५ मा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शन गर्नु हो । व्यापार संघहरूको समर्थन रहेको यो आन्दोलनले सरकारको ध्यानाकर्षण गराएको छ ।

युक्रेन (जुलाई २०२५) : जुलाई २०२५ मा भ्रष्टाचार नियन्त्रण एजेन्डालाई कमजोर पार्ने सरकारी प्रयासविरुद्ध युवाहरू प्रदर्शनमा उत्रिए । सामाजिक सञ्जालमार्फत समन्वय भएको यो आन्दोलनले सरकारलाई आफ्नो नीतिमा पुनर्विचार गर्न र भ्रष्टाचारविरुद्धको पारदर्शिता बढाउन बाध्य पा¥यो ।।

स्लोभाकिया (डिसेम्बर २०२४– मे २०२५) : स्लोभाकियामा प्रधानमन्त्री रोबर्ट फिकोको रसिया समर्थित र युरोपियन–विरोधी नीतिहरू विरुद्ध डिसेम्बर २०२४ देखि मे २०२५ सम्म ठूलो जनआन्दोलन चल्यो । यद्यपि, सरकारले दबाबलाई नमानेर आफ्नो पदमा कायम रह्यो र आन्दोलनलाई दबाउन सफल भयोे ।

अमेरिका (फेब्रुअरी–अप्रिल २०२५) : ‘५० राज्यमा ५०’ प्रदर्शन नामक आन्दोलन युवा नेतृत्वको अमेरिकामा आन्दोलन शुरू भयो । फेब्रुअरी, मार्च र अप्रिलमा भएका राष्ट्रव्यापी प्रदर्शनहरूमा लाखौं युवाहरूले डोनाल्ड ट्रम्पको नीति, युक्रेनलाई सहयोग र संवैधानिक सुरक्षाको माग गरे । यो अमेरिकाको इतिहासको सबैभन्दा ठूलो एकदिने विरोध आन्दोलनमध्ये एक बन्यो ।

बेलायत (जुलाई २०२५) : जुलाई २०२५ मा आप्रवासन नीतिविरुद्ध दक्षिणपन्थी युवाहरूले प्रदर्शन शुरू गरे । सडक जाम, होटल अवरोध र अनलाइन अभियानहरूमा संलग्न यो आन्दोलन हिंसात्मक बन्दै गयो, जसमा ठूलो प्रहरी दमन भयो यसले समाजमा गम्भीर विभाजन देखायो ।

टर्की (अप्रिल २०२५) : इस्तानबुलका लोकप्रिय मेयर एक्रेम इमामोग्लुलाई जेल सजायको घटनापछि अप्रिल २०२५ मा युवाहरूले ठूलो प्रदर्शन शुरू गरे । लोकतन्त्र र जवाफदेहिताको माग गर्दै शुरू भएको यो आन्दोलनलाई प्रहरीले दमन ग¥यो, २ हजारभन्दा बढी युवा गिरफ्तार भए, तर यसले टुर्कीका युवाहरूलाई राजनीतिक रूपमा सक्रिय बनाउने महत्वपूर्ण भूमिका खेल्यो ।

इरान (मे २०२५) : मे २०२५ मा बढ्दो आर्थिक संकट, बिमा प्रिमियम र इन्धनको मूल्यवृद्धि विरुद्ध देशव्यापी हड्तालहरू भए । चालक, किसान, मजदुरहरू सामेल भएको यस आन्दोलनले १५५ भन्दा बढी सहरलाई प्रभावित गरेर दैनिक जीवनमा ठूलो अवरोध सिर्जना ग¥यो र सामाजिक असन्तुष्टिलाई उजागर ग¥यो ।

बंगलादेश (अप्रिल २०२५ ) : गाजाको समर्थनमा आयोजित ‘मार्च फर गाजा’ले ठूलो भीड परिचालन ग¥यो । यसले विदेश नीतिमा प्रत्यक्ष परिवर्तन नगरे पनि क्षेत्रीय बहसलाई नयाँ आयाम दिएको छ ।

युगान्डा, मलावी, घाना, गाम्बिया (जुलाई २०२४) : अफ्रिकी देशहरू युगान्डा, मलावी, घाना र गाम्बियामा पनि केन्याको आन्दोलनले प्रेरणा दिएर युवा बेरोजगारी, आर्थिक संकट र भ्रष्टाचारविरुद्ध आन्दोलनहरू शुरू भएका छन् ।