– कठिन परिस्थितिमा पनि राष्ट्र तथा जनहितका निम्ति जस्तोसुकै चुनौती झेल्न नेपालको निजामती प्रशासन सक्षम
–निजामती सेवाले आफ्नो विशिष्ट मौलिक पहिचान बनाउन सफल
– निजामती सेवाथप प्रविधिमैत्री, सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुनु जरुरी
–अब लामो समयदेखि उल्झनमा रहेको प्रशासनिक संघीयता कार्यान्वयनको विषयले गति लिने
काठमाडौं।
सरकारका मुख्य सचिव एकनारायण अर्यालले मुलुकको शासन प्रणालीको मेरुदण्ड र समग्र सार्वजनिक सेवाको मियोको रुपमा रहेको नेपालको निजामती सेवा सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन, विकास लगायत सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा समर्पित हुँदै आएको बताएका छन् ।
२२ औं निजामती सेवा दिवसको अवसरमा आइतबार आयोजित विशेष समारोहमा बोल्दै मुख्य सचिव अर्यालले मुलुकमा कठिन परिस्थिति आएका बखत पनि राष्ट्र तथा जनहितका निम्ति जस्तोसुकै चुनौती झेल्न नेपालको निजामती प्रशासन सक्षम छ भन्ने कुरा विगतमा यसले खेलेको भूमिकाले पुष्टि गरिसकेको स्पष्ट परेका छन् । मुख्य सचिव अर्यालले पछिल्लो समय ढड्डा र अड्डामुखी सेवाबाट आधुनिक सूचना प्रविधिको उपयोग गर्दै कागज एवं मुहाररहित सेवाप्रवाहमार्फत मुलुकलाई क्रमशः डिजिटाइजेशनको युगमा प्रवेश गराउन समेत निजामती सेवाको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पारे ।
मुख्य सचिव अर्यालले आवधिक योजनामा राखिएका लक्ष्यपूर्णरुपमा हासिल गर्न नसकेतापनिदेशको आर्थिक, भौतिक र सामाजिक रुपमा आजसम्म जे जति उपलब्धिहरू हासिल भएका छन् त्यसमा निजामती प्रशासनको उल्लेख्य भूमिका रहेको बताए । ‘यसका निम्ति पनि म सम्पूर्ण सेवा निवृत्त तथा सेवारत निजामती राष्ट्रसेवक कर्मचारीहरुलाई वहाँहरुले पुर्याउनुभएको योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’मुख्य सचिव अर्यालले भने ।
मुख्य सचिव अर्यालले अघि भने ‘नेपालको निजामती सेवाको ६९ वर्षको लामो अवधिमा आज हामी “व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन“ भन्ने मूल नाराका साथबाइसौं निजामती सेवा दिवस मनाइरहेका छौं। आजको यस विशेष दिनले हामी सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई राष्ट्र र नागरिकप्रतिको जिम्मेवारी,उत्तरदायित्व र समर्पणभावलाई गहिरोसँग सम्झाइरहेको छ। नेपालको निजामती सेवाले आजको दिनसम्म आइपुग्दा आफ्ना विशिष्ट मौलिक पहिचान सहितनागरिकका लागि सेवा प्रवाहको भरपर्दोर अविच्छिन्न स्थायी संयन्त्रको रुपमा आफूलाई स्थापित गरेको छ।’
अर्यालले निजामती प्रशासनको विगतमा स्थापित गरिमालाई जोगाउन निजामती सेवा सामु विभिन्न चुनौतीहरु रहेको बताउँदै बदलिदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयमहरुलाई सम्बोधन गर्न निजामती सेवाथप प्रविधिमैत्री, सृजनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुनु जरुरी रहेको स्पष्ट पारे ।
नेपालको संविधान बमोजिम स्थापित संघात्मक शासकीय स्वरुप र संरचनामा निजामती सेवाको भूमिकालाई प्रभावकारी र समन्वयकारी ढङ्गले अघि बढाउनु जरुरी रहेको स्पष्ट पार्दै मुख्य सचिव अर्यालले यसका लागि मजवुद कानूनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको र हालै प्रतिनिधिसभाबाट स्वीकृत भएर राष्ट्रियसभाबाट सन्देशसहित पुनः प्रतिनिधिसभामा टेवल भई केही दिनभित्रै पारित हुने क्रममा रहेको संघीय निजामती सेवा विधेयक ऐनका रुपमा जारी भई कार्यान्वयनमा आउनासाथ लामो समयदेखि उल्झनमा रहेको प्रशासनिक संघीयता कार्यान्वयनको विषयले गति लिने विश्वास व्यक्त गरे ।
‘नयाँ परिवेश अनुरुप नयाँ विचार, पद्धति र आचरण अंगीकार गर्न सकियो भने मात्रै समाजमा चाहे अनुसारको रूपान्तरण हासिल गर्न सकिन्छ। निजामती सेवा दिवसको आजकै दिनबाट म सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई यस प्रकारको रुपान्तरणको गतिमा समाहित हुन आह्वान समेत गर्दछु।’मुख्य सचिव अर्यालले भने ।











प्रतिक्रिया