सवारी तथा यातायात व्यवस्थाबमोजिम कारबाहीको माग




प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण टिप्पणीको सर्वत्र आलोचना

ललितपुर ।

ललितपुरमा शनिबार ११ वर्षीया बालिका उषामगर सुनुवारलाई ठक्कर दिएर भागेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर (राना) माथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार सशक्त कारबाहीको माग चुलिएको छ । गोदावरीमा भइरहेको नेकपा(एमाले)को विधान अधिवेशनमा सहभागी हुन आएका कोशी प्रदेशका मन्त्री मगरको को १ झ ६९९ नम्बरको सरकारी गाडीले ललितपुर महानगरपालिकाको – २८ स्थित हरिसिद्धि माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा ती बालिकालाई ठक्कर दिएको हो । बीएन्डबी अस्पतालमा उपचाररत घाइते बालिकाको स्वास्थ्यमा सुधार आएपछि शनिबार नै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

गाडीको ठक्करले बालिका सडकमा पछारिए पनि मन्त्रीको गाडी नरोकिकनै घाइते बालिकालाई सडकमै छाडेर भागेको थियो । घटनास्थलबाट भाग्ने मन्त्री तथा मन्त्रीको चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनबमोजिम कारबाहीको मागसमेत चुलिएको छ ।

उक्त घटनाका कारण शनिवार एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र निर्धारित समयभन्दा केही समय ढिलाइ भएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजिएको टिप्पणी गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकहिले यस्ता अप्रिय घटना हुन्छन्, भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो ।’

प्रधानमन्त्रीको योखालको गैरजिम्मेवार टिप्पणीको सर्वत्र आलोचना हुनाको साथै दुर्घटना गराएरसडकमा अरूकै कारण कोही दुर्घटनामा पर्दा त रोकिएर उद्धार गर्नुपर्ने नैतिक जिम्मेवारी बोकेको मन्त्रीको आफ्नै गाडीले ठक्कर दिँदा पनि गाडी नरोकिकन भागेका कारण सर्वसाधारणको आक्रोश बढेको थियो । घटनापछि आक्रोशित स्थानीयबासीले केही समय सडक अवरुद्ध गरेका थिए । उनीहरूले मन्त्री चढेको गाडी नरोकी भागेकोे र बालिकाको जीवन जोखिममा पारेको भन्दै आक्रोश पोखेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिइएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार बालिकाले जेब्राक्रसिङ नजिकबाट बाटो काट्ने क्रममा तीव्र गतिमा आएको मन्त्री सवार गाडीले बिहान करिब ७ ः १५ बजेतिर ठक्कर दिएको थियो । बालिका गाडीको छेवैमा पछारिएर लडेकी थिइन्, तर गाडी नरोकी भागेको थियो । त्यसपछि गाडीको पछाडि आइरहेका एक मोटरसाइकलमा सवार महिलाले बालिकालाई सडकबाट उठाएको स्थानीयवासी अनिल महर्जनले बताउनुभयो ।

त्यसपछि बालिकालाई उपचारको लागि ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा लगिएको थियो । बालिकालाई ठक्कर दिएर गाडी नरोकीकन भागेको घटना देशव्यापी चासो र आलोचनाको विषय बनेको थियो ।
त्यसपछि नेकपा (एमाले)को विधान अधिवेशनमै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने निर्णय सुनाउनुभएको थियो । घटनाको चर्चा चुलिएपछि मन्त्री मगर आफैं बालिकाको अवस्था बुझ्न दिउ“सो बीएन्डबी अस्पताल पुग्नुभएको थियो ।

‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकहिले यस्ता अप्रिय घटना हुन्छन्, भइदियोे ।’
केपी शर्मा ओली ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री