काठमाडौं।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालको प्रत्यारोपण इतिहासमै अर्को सुनौलो उपलब्धि हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभाका लक्ष्मण किशोर चौधरीमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरी सफलतापूर्वक नयाँ जीवन दिन केन्द्रले इतिहास रचेको हो ।
मिति २०८२ भाद्र ९ गते सम्पन्न उक्त प्रत्यारोपण नेपालकै मात्र नभई विश्वस्तरमै दुर्लभ उपलब्धि मानिन्छ । सामान्यतया एकपटक प्रत्यारोपण सफल भएपछि बिरामीले दशकौँसम्म प्रत्यारोपित मृगौलासँग जीवन व्यतीत गर्ने अपेक्षा हुन्छ । तर विभिन्न कारण—जस्तै इम्युनोलोजिकल अस्वीकार, संक्रमण, वा ‘क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी’का कारण मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर तेस्रो पटक प्रत्यारोपण गर्नु भने चिकित्सकीय दृष्टिले अत्यन्तै जोखिमपूर्ण, जटिल र चुनौतीपूर्ण प्रक्रिया हो ।
नेपालमै पहिलोपटक तेस्रो मिर्गौला प्रत्यारोपण सम्पन्न भएको यो घटना स्वास्थ्य सेवाको स्तर र प्राविधिक क्षमताको महत्त्वपूर्ण सूचक बनेको छ । वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न यो शल्यक्रियाले नेपालमा अंग प्रत्यारोपण सेवा विश्वस्तरीय क्षमतासँग मेल खाने अवस्थामा पुगेको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ । डा. श्रेष्ठलाई यसअघि बेलायतमा समेत यस्तै जटिल प्रत्यारोपणको अनुभव रहेकोले नेपालमा पनि सम्भव भएको जानकारी केन्द्रले दिएको छ ।

चौधरीले पहिलो मिर्गौला प्रत्यारोपण भारतमा गर्नुभएको थियो । त्यसपछि दोस्रो प्रत्यारोपण २०७२ सालमा भएको थियो । हालको तेस्रो प्रत्यारोपण भने ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत् गरिएको हो । यो प्रणाली अन्तर्गत गैर–नातेदारबीच मिर्गौला साटासाट गरेर प्रत्यारोपण गरिन्छ, जसलाई विश्वका थोरै मुलुकमै प्रयोगमा ल्याइएको छ । चौधरीले मन्त्री पद त्यागेर पनि उपचारलाई प्राथमिकता दिनु परेपछि यो सफलताले समाजमा रोगभन्दा जीवनको मूल्य ठुलो हुने सन्देश दिएको छ ।
नेपालमा दोस्रो पटकको मिर्गौला प्रत्यारोपणको यात्रा डा. पुकारकै नेतृत्वमा वीर अस्पतालमा सन् २०१० मै सुरु भएको हो। त्यसयता धेरै सफल प्रत्यारोपणहरू भए पनि तेस्रो पटकको प्रत्यारोपण भने अहिलेसम्म दुर्लभ रहँदै आएको थियो । नेपालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलता प्रापत गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि छन् । यसपटकको सफलता नेपाली चिकित्सकहरूको दक्षता, अस्पतालको प्राविधिक क्षमता र स्वास्थ्य क्षेत्रमा भइरहेको निरन्तर प्रगतिलाई प्रतिबिम्बित गर्छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १३ वर्षको छोटो अवधिमै १ हजार ५ सय २ जनाको सफल मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ । यो तथ्यांकले नेपालमा अंग प्रत्यारोपण सेवा निरन्तर बलियो बन्दै गएको प्रमाणित गरेको छ ।
यस ऐतिहासिक प्रत्यारोपणले नेपालमा उपचारको नयाँ आशा र विश्वास जगाएको छ । विदेशी उपचारमा भर परिरहनुपर्ने बाध्यता क्रमशः अन्त्यतिर धकेलिँदै जाँदा अब नेपाली नागरिकले आफ्नै भूमिमा विश्वस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया