काठमाडौं ।
नेपाली सेनाको हवाई क्षमतामा वृद्धि भएको छ । अमेरिकी सरकारले बिहीबार थप दुईवटा एम–२८ स्काई ट्रक विमान सेनालाई हस्तान्तरण गरेसँगै सेनासँग अब पाँचवटा स्काई ट्रक भएका छन् । तीमध्ये एउटा पूर्ण रूपमा एयर एम्बुलेन्सका लागि समर्पित छ, जसलाई दुर्गम भेगमा बिरामी उद्धारमा प्रयोग गरिने छ ।
स्काई ट्रकलाई छोटो धावनमार्गमै अवतरण र उडान गर्न सक्ने क्षमतायुक्त विमान मानिन्छ । पोल्यान्डमा बनेको यो जहाज नेपालजस्तो भौगोलिक चुनौतीपूर्ण मुलुकमा उपयुक्त ठहरिन्छ । सैनिक ढुवानी, विपद् व्यवस्थापन, राहत आपूर्ति, मानवीय सहायता र स्वास्थ्य उद्धारमा यसलाई प्रयोग गर्ने तयारी गरेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।
यसअघि २०१९ मा अमेरिकी सरकारले दुईवटा स्काई ट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । नयाँ हस्तान्तरणसँगै स्काई ट्रकको संख्या पाँच पुगेको छ । मध्य एयर बेसमा आयोजित समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च पदाधिकारीको उपस्थितिमा अमेरिकी राजदूत डीन आर. थम्पसनले विमान हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा अमेरिकी राजदूत थम्पसनले आगामी १६ महिनाभित्र नेपाललाई थप दुईवटा अत्याधुनिक बेल हेलिकोप्टर उपलब्ध गराइने घोषणा गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘यो सहयोगले नेपाल–अमेरिका सम्बन्ध अझ प्रगाढ बनाउनेछ । हामी नेपाली जनताको आवश्यकता र मित्रताको भावनाबाट प्रेरित छौं ।’
हाल नेपाली सेनासँग विमान र हेलिकोप्टर गरी २० हवाई साधन रहेका छन् । तीमध्ये केही मर्मतमा भए पनि अधिकांश सञ्चालनमा रहेका छन् । नेपाली सेनासँग ५ स्काई ट्रक (एउटा एयर एम्बुलेन्ससहित) १५ हेलिकोप्टर (विभिन्न प्रकारका) रहेका छन् । सेनाको हवाई क्षमतामा विगत दुई दशकयता निरन्तर विस्तार भएको देखिन्छ । विशेषज्ञहरूले यो सहयोगलाई भूराजनीतिक सन्दर्भमा पनि महत्वपूर्ण ठानेका छन् । चीन र भारतबीच अमेरिकाको बढ्दो प्रतिस्पर्धाका बीच नेपाललाई दिइएको निरन्तर सहयोगलाई इन्डो–प्यासिफिक रणनीतिसँग जोडेर हेरिएको छ ।
रक्षा मामिलाका जानकार भीष्म अधिकारी अमेरिकी सहयोगलाई केवल सैन्य दृष्टिले मात्र होइन, भू–राजनीतिक सन्दर्भमा पनि बुझ्नुपर्ने बताउनुहुन्छ । ‘नेपाललाई हवाई क्षमतामा सहयोग गर्नु भनेको मानवीय उद्धारमा मद्दत त हो नै, तर यसले रणनीतिक सन्देश पनि दिन्छ’ –उहाँले भन्नुभयो ।
सुरक्षाविद् अर्जुन रावलको दृष्टिमा भने यो सहयोगलाई द्वैध धार भएको रूपमा बुझ्नुपर्छ । एकातिर नेपाली सेनाको उद्धार क्षमता बढ्छ, अर्कोतिर यसले अमेरिकाको क्षेत्रीय रणनीतिसँग नेपाललाई जोड्ने संकेत पनि दिन्छ । यसबारे नेपालले सजग रहनुपर्ने देखिन्छ । अमेरिकी सहयोगमा थपिएका दुई स्काई ट्रकले नेपाली सेनाको क्षमता वृद्धिमात्र होइन, नेपाल–अमेरिका सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याएको छ ।
सैनिक प्रयोगसँगै यसले मानवीय उद्धार, स्वास्थ्य सेवा र विपद् व्यवस्थापनमा प्रत्यक्ष लाभ पु¥याउनेछ । साथै, भूराजनीतिक सन्दर्भमा नेपाललाई अमेरिकाले प्राथमिकतामा राखेको सन्देशसमेत यसबाट प्रस्ट भएको विश्लेषकहरूको भनाइ छ ।











प्रतिक्रिया